अब अनलाइनबाटै नेपाल टेलिकमको पोस्टपेड सिम नामसारी गर्न सकिने

शुक्रबार, २९ साउन २०८३, १६ : ३३

काठमाडौं- नेपाल टेलिकमका जीएसएम पोस्टपेड मोबाइल ग्राहकले अब सिमकार्ड नामसारीका लागि आवश्यक विवरण अनलाइनबाटै भर्न सक्ने भएका छन् । नेपाल टेलिकमले नामसारी प्रक्रियालाई सहज बनाउँदै यस्तो व्यवस्था लागू गरेको हो ।

कुनै एक व्यक्तिको नाममा रहेको पोस्टपेड सिम अर्को व्यक्तिको नाममा नामसारी गर्न ग्राहकले कस्टमर लगइन पोर्टलमार्फत आवश्यक विवरण भर्न सक्नेछन् । पोर्टलमा मोबाइल नम्बर राखेपछि ओटीपी प्राप्त हुनेछ ।

त्यसपछि हालका ग्राहक र नामसारी गर्नुपर्ने नयाँ ग्राहकको व्यक्तिगत विवरण उपलब्ध गराउनुपर्नेछ । साथै, पछिल्लो एक महिनामा कल गरिएका पाँचवटा मोबाइल नम्बरसमेत उल्लेख गर्नुपर्नेछ ।

सबै विवरण अनलाइनबाट भरेपछि अन्तिम प्रमाणीकरणका लागि नजिकको नेपाल टेलिकम कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्नेछ । नामसारी दस्तुर बुझाई सक्कल नागरिकतासहित ग्राहक स्वयं वा प्रतिनिधिमार्फत अन्तिम प्रमाणीकरण गर्न सकिनेछ ।

कार्यालयमा उपस्थित हुन नसक्ने सेवाग्राहीले प्रतिनिधिमार्फत अन्तिम प्रमाणीकरण गर्न सक्ने भएकाले नामसारी प्रक्रिया थप सहज हुने नेपाल टेलिकमले जनाएको छ ।

हाल यो सुविधा व्यक्तिगत ग्राहकका लागि मात्रै उपलब्ध हुनेछ । कर्पोरेट ग्राहकले भने नामसारीका लागि सम्बन्धित कार्यालयमै उपस्थित हुनुपर्नेछ ।

नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार अनलाइनमार्फत आवश्यक विवरण पहिले नै भर्न सकिने भएपछि पोस्टपेड सिम नामसारीका लागि लाग्ने समय र झन्झट कम हुने अपेक्षा गरिएको छ ।

शुक्रबार, २९ साउन २०८३, १६ : ३३

प्रतिक्रिया