काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको २ अर्ब ८३ करोड ६० लाख रुपैयाँको तुलनामा ६०.६८ प्रतिशतले बढी हो।
बैंकका अनुसार कर्जा लगानी तथा आम्दानीमा भएको वृद्धि र इम्पेयरमेन्ट चार्ज घटेका कारण नाफामा उल्लेख्य सुधार भएको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ९६ करोड ६१ लाख रुपैयाँ पुगेको छ।
बैंकको कुल सञ्चालन आम्दानी १५ अर्ब ५ करोड ६६ लाख रुपैयाँ पुगेको छ भने करअघिको खुद सञ्चालन नाफा ६ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष वितरणयोग्य मुनाफा नरहेकोमा गत वर्ष १ अर्ब ७ करोड ६९ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ।
असार मसान्तसम्म बैंकको कुल निक्षेप ६ खर्ब ८६ अर्ब १३ करोड रुपैयाँ र खुद कर्जा तथा सापट ३ खर्ब ४० अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। निक्षेप ३७.११ प्रतिशत र कर्जा १२.५० प्रतिशतले बढेको बैंकले जनाएको छ।
बैंकको निष्क्रिय कर्जा अनुपात ३.९५ प्रतिशत, आधार दर ४.२० प्रतिशत र प्रतिसेयर आम्दानी २९.१४ रुपैयाँ रहेको छ। बैंकले सातै प्रदेशका ७७ जिल्लामा ३१६ शाखा, ३३५ एटीएम तथा १ लाख ४८ हजार क्यूआर मर्चेन्टमार्फत सेवा दिँदै आएको छ।
प्रतिक्रिया