‘रोड टु एभरेस्ट’ वृत्तचित्रको अफिसियल ट्रेलर सार्वजनिक

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक

शनिबार, ३० साउन २०८३, ०८ : २२

काठमाडौं- विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई केन्द्रमा राखेर निर्माण गरिएको वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको असाधारण यात्रासँगै मानवीय साहस, संघर्ष र दृढ संकल्पको शक्तिशाली झलक प्रस्तुत गरेको छ ।

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा निर्माण गरिएको यस वृत्तचित्रमा कुनै पनि कृत्रिम वा कम्प्युटर सिर्जित दृश्य प्रयोग नगरिएको निर्माण पक्षले जनाएको छ । समुद्री सतहदेखि सगरमाथाको शिखरसम्मको वास्तविक यात्रालाई समेटिएको ‘रोड टु एभरेस्ट’ पूर्णतः वास्तविक दृश्यमा आधारित पहिलो वृत्तचित्र भएको निर्माण पक्षको दाबी छ ।

दुई वर्षको अनुसन्धान, छायांकन तथा निर्माण प्रक्रियापछि तयार भएको यस वृत्तचित्रको कथा सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठ ले लेखेका हुन् । चर्चित सञ्चारकर्मी भूषण दाहालको आवाज रहेको वृत्तचित्र नेपाली र अंग्रेजी दुवै भाषामा तयार गरिएको छ ।

Road to Everest Photo-4

वृत्तचित्रमा ५० वर्ष नाघेका राज गुरुङको प्रेरणादायी यात्रा प्रस्तुत गरिएको छ, जसले उमेर, समय र आफ्नै सीमालाई चुनौती दिँदै सगरमाथा आरोहणको सपना पछ्याउँछन् । उनको यात्रा केवल एउटा आरोहणको कथा नभई सपना, संघर्ष, आत्मविश्वास र असम्भवलाई सम्भव बनाउने मानवीय इच्छाशक्तिको कथा बन्न पुगेको निर्माण पक्षको भनाइ छ ।

निर्मल श्रेष्ठको निर्देशनमा तयार भएको वृत्तचित्रले सगरमाथाको भव्यता मात्र प्रस्तुत गर्दैन, आरोहणका जोखिम, शेर्पा समुदायको अथक योगदान, मानवीय साहस तथा जलवायु परिवर्तनका कारण तीव्र रूपमा बदलिँदै गएको हिमाली वातावरणलाई समेत गहिराइका साथ प्रस्तुत गरेको छ । वृत्तचित्रले सगरमाथालाई केवल एउटा हिमालका रूपमा नभई साहस, संघर्ष, अठोट र मानवीय क्षमताको प्रतीकका रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ ।

‘रोड टु एभरेस्ट’ मा कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा र निमा ग्याल्जेन शेर्पा आरोहीका रूपमा देखिनेछन्। फुर्वाले हालसम्म सगरमाथाको १८ पटक सफल आरोहण गरेका छन् भने निमाले १० पटक सगरमाथा सफलतापूर्वक आरोहण गर्नुका साथै विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ वटा हिमालको सफल आरोहण गरिसकेका छन् । यात्रामा विनोद गुरुङ, सुरज गुरुङ र निर्मल श्रेष्ठ पनि सहयात्री पात्रका रूपमा देखिनेछन् ।

Road to Everest Photo-3

निर्माण पक्षका अनुसार ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर भदौ ६ मा काठमाडौं र अन्तर्राष्ट्रिय प्रिमियर २८ भदौ मा हङकङमा हुनेछ । त्यसपछि वृत्तचित्रलाई नेपालका विभिन्न स्थानसँगै अन्तर्राष्ट्रिय मञ्च, फिल्म फेस्टिभल तथा सिनेमा हलहरूमा प्रदर्शन गर्ने तयारी भइरहेको छ ।

सामाजिक संस्था वि विल राइज फाउण्डेसन द्वारा निर्मित यस वृत्तचित्रको उद्देश्य दर्शकलाई प्रेरित गर्नुका साथै नेपालको पर्यटनलाई विश्वस्तरमा प्रवद्र्धन गर्नु र हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे विश्वव्यापी ध्यानाकर्षण गराउनु पनि रहेको निर्माण पक्षले जनाएको छ। वृत्तचित्रको अवधि ५० मिनेट रहेको छ ।
 

शनिबार, ३० साउन २०८३, ०८ : २२

प्रतिक्रिया