काठमाडौं- भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ को पाँचौं दिन शनिबार मात्रै ४२ हजारभन्दा बढीले अवलोकन गरेका छन्। आइतबारसम्म सञ्चालन हुने एक्स्पोमा हालसम्म १ लाख ५० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी भइसकेको आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले जनाएको छ।
एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन्। ५३ वटा स्टल रहेको एक्स्पोमा विभिन्न कम्पनीले ५२ वटा नयाँ मोडलका सवारीसाधनसमेत सार्वजनिक गरेका छन्। चारपांग्रे मात्र नभई दुईपांग्रे सवारीतर्फ पनि अवलोकनकर्ताको उल्लेख्य भीड देखिएको छ।
एक्स्पोमा १८ लाख ५० हजार रुपैयाँदेखि ३ करोड रुपैयाँसम्म मूल्य पर्ने सवारीसाधन प्रदर्शनीमा राखिएका छन्। तीमध्ये एक करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने केही आकर्षक सवारीसाधन यस्ता छन्।
डेन्जा बी–५
नाइमा एक्स्पोमा राखिएका सवारीसाधनमध्ये सबैभन्दा महँगो मोडल डेन्जा बी–५ हो। बीवाईडीको प्रिमियम ब्रान्ड डेन्जाको यो ५ सिट क्षमताको प्लग–इन हाइब्रिड एसयूभी हो।
यसको सामान्य ग्राउन्ड क्लियरेन्स २२० एमएम रहेको छ भने अधिकतम ३१० एमएमसम्म पुग्ने बताइएको छ। यसमा १।५ लिटर टर्बो पेट्रोल इन्जिनसँगै दुईवटा इलेक्ट्रिक मोटर जडान गरिएको छ। अगाडिको मोटरले २०० किलोवाट र पछाडिको मोटरले २८५ किलोवाटसम्म पावर उत्पादन गर्ने कम्पनीको भनाइ छ।
नाइमामा यसको मूल्य २ करोड ९७ लाख रुपैयाँ तोकिएको छ। नेपालमा डेन्जाको आधिकारिक वितरक साइमेक्स इंक हो।
एमजी मेजेस्टोर
जीओ अटोमोबाइल्सले नाइमा एक्स्पोमा एमजीको प्रिमियम एसयूभी मेजेस्टोर सार्वजनिक गरेको छ। यसको मूल्य २ करोड ५० लाख रुपैयाँ रहेको छ। कम्पनीले यसलाई नेपालको जस्तोसुकै सडकमा चलाउन सकिने क्षमताको एसयूभीका रूपमा प्रस्तुत गरेको छ।
भारतको पहिलो ‘डी प्लस’ एसयूभीका रूपमा प्रस्तुत गरिएको मेजेस्टोर परम्परागत फुल–साइज एसयूभीभन्दा माथिल्लो श्रेणीमा पर्ने कम्पनीको दाबी छ। यसमा २१९ एमएमको ग्राउन्ड क्लियरेन्स र ७५ लिटर क्षमताको फ्युल ट्यांक छ।
गाडीमा इको, नर्मल र स्पोर्ट्स गरी तीनवटा ड्राइभ मोड उपलब्ध छन्। कठिन सडकमा समेत नियन्त्रण सहज बनाउने विभिन्न फिचर यसमा राखिएको कम्पनीले जनाएको छ। भेन्टिलेटेड तथा मसाज सिट, इलेक्ट्रिक सिट एडजस्टमेन्ट, ३६० डिग्री क्यामेरा र ६ वटा एयरब्यागलगायत सुविधा यसमा छन्।
टोयोटा न्यु र्याभ–४

टोयोटाको नेपालस्थित आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नाइमा एक्स्पोमा हाइब्रिड इलेक्ट्रिक एसयूभी न्यु र्याभ–४ सार्वजनिक गरेको छ। यसको मूल्य २ करोड १३ लाख रुपैयाँ तोकिएको छ।
एक्स्पो अवधिमा खरिद गर्ने ग्राहकले ८ लाख रुपैयाँसम्म नगद छुट पाउने कम्पनीले जनाएको छ। यसमा २।४८७ सीसीको हाइब्रिड इन्जिन, सीभीटी अटोमेटिक ट्रान्समिसन तथा अल–ह्विल ड्राइभ प्रणाली रहेको छ। यसले १३७ किलोवाट पावर र २२१ एनएम टर्क उत्पादन गर्छ।
कम्पनीका अनुसार यसको हाइब्रिड प्रविधिले प्रतिलिटर १५ देखि २० किलोमिटरसम्म माइलेज दिन सक्छ। गाडी गुडिरहेका बेला आफैं चार्ज हुने हाइब्रिड प्रणाली, २०१ एमएम ग्राउन्ड क्लियरेन्स र १८ इन्चको एलोई ह्विल यसका प्रमुख विशेषता हुन्।
टोयोटा हाइलक्स

टोयोटाको लोकप्रिय पिकअप हाइलक्स पनि नाइमा एक्स्पोमा आकर्षणको केन्द्र बनेको छ। २२५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको हाइलक्समा ८० लिटर क्षमताको फ्युल ट्यांक छ। पाँच सिट क्षमताको यो पिकअपलाई कम्पनीले बलियो तथा अफरोड क्षमताका लागि उपयुक्त सवारीका रूपमा प्रस्तुत गरेको छ।
यसको मूल्य १ करोड ५५ लाखदेखि १ करोड ५७ लाख रुपैयाँसम्म रहेको उल्लेख गरिएको छ। एक्स्पोको अवसरमा खरिद गर्दा ३ लाख रुपैयाँ नगद छुट तथा एक वर्षको बिमा सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।
एमजी एचएस पीएचईभी
पारामाउन्ट मोटर्सले नाइमा मोबिलिटी एक्स्पोमा नयाँ मोडलका रूपमा एमजी एचएस पीएचईभी सार्वजनिक गरेको छ। प्लग–इन हाइब्रिड प्रविधिमा आधारित यो गाडीको नियमित मूल्य १ करोड ३९ लाख ९९ हजार रुपैयाँ रहेकोमा एक्स्पोमा ३ लाख रुपैयाँ छुटसहित १ करोड ३६ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराइएको छ।
कम्पनीले खरिदकर्तालाई एक वर्षको बिमा सुविधा पनि दिने जनाएको छ। यसमा इन्जिनसँगै ब्याट्री र इलेक्ट्रिक मोटर जडान गरिएको छ। ब्याट्रीको चार्ज कम हुँदा इन्जिनले काम गर्दै ब्याट्री चार्ज गर्न सक्ने प्रणाली यसमा छ।
यसमा २४.४ किलोवाट क्षमताको ब्याट्री र २२० किलोवाटको कम्बाइन्ड मोटर रहेको कम्पनीले जनाएको छ।
डोङफेङ लङरेन्च ईभी बस
हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको डोङफेङद्वारा उत्पादित विद्युतीय यात्रुवाहक बस पनि एक्स्पोमा सार्वजनिक गरेको छ।
३० सिट क्षमताको डोङफेङ लङरेन्च बसको मूल्य १ करोड २४ लाख ५० हजार रुपैयाँ छ भने २८ सिट क्षमताको सिटी बसको मूल्य १ करोड १४ लाख ५० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
एक्स्पोमा बुकिङ गर्ने ग्राहकका लागि दुवै बसमा ५० जनासम्मले ५र५ लाख रुपैयाँ छुट पाउने अफर सार्वजनिक गरिएको छ। यी दुवै मोडलमा ५ वर्षको वारेन्टी उपलब्ध हुने कम्पनीको भनाइ छ।
बाइकको बीजे–३०ई
_OXwtQW7fmZ.jpg)
लक्ष्मी मोटरहबले नाइमा एक्स्पोमा बीजे–३०ई हाइब्रिड गाडी सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यसमा ३० किलोमिटर प्रतिघण्टासम्मको गतिमा चल्न सक्ने इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ।
५१ लिटर क्षमताको फ्युल ट्यांक रहेको यसले १७ देखि १८ किलोमिटर प्रतिलिटरसम्म माइलेज दिने कम्पनीको दाबी छ। अफरोडिङका लागि उपयुक्त यस गाडीको ग्राउन्ड क्लियरेन्स २१५ एमएम छ।
फोर ह्विल एक्टिभेट हुन ०.३ सेकेन्ड र टर्बो एक्टिभेट हुन ०.५ सेकेन्ड लाग्ने कम्पनीले जनाएको छ। एक्स्पोमा छुटसहित यसको मूल्य १ करोड १९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ।
एमजी यू–९ ईभी
पारामाउन्ट मोटर्सले नाइमा एक्स्पोमा एमजी यू–९ ईभी फ्ल्यागसिप पनि प्रदर्शनीमा राखेको छ। यसको मूल्य १ करोड १० लाख रुपैयाँ तोकिएको छ।
यसमा १०२.२ किलोवाट क्षमताको ब्याट्री तथा दुईवटा इलेक्ट्रिक मोटर जडान गरिएको छ। दुवै मोटरको संयुक्त क्षमता ३२५ किलोवाट रहेको कम्पनीले जनाएको छ। पूर्ण चार्जमा यसले ४३० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ।
नाइमा एक्स्पोमा करोडभन्दा बढी मूल्यका यस्ता प्रिमियम, हाइब्रिड तथा विद्युतीय सवारीसाधनले समेत अवलोकनकर्ताको ध्यान तानेका छन्। नयाँ प्रविधि, विलासी सुविधा र विद्युतीय तथा हाइब्रिड विकल्पका कारण एक्स्पोमा महँगा सवारीको समेत आकर्षण बढेको देखिन्छ।
प्रतिक्रिया