काठमाडौं- नेपालमा अटोमोबाइल तथा मोबिलिटी बजार सुस्त रहेको चर्चा भइरहेका बेला ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ मा देखिएको उत्साहले बजारमा माग विस्तारको संकेत गरेको छ। ६ दिनसम्म चलेको एक्स्पोमा १ लाख ८० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुनुका साथै सवारीसाधन खरिदका लागि अपेक्षाभन्दा राम्रो इन्क्वायरी र बुकिङ भएको आयोजकले जनाएको छ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको एक्स्पोमा आयोजकले करिब डेढ लाख अवलोकनकर्ता आउने अपेक्षा गरेको थियो। तर अपेक्षाभन्दा ३० हजारभन्दा बढी मानिस एक्स्पोमा पुगेका छन्। ठूलो संख्यामा उपभोक्ताको सहभागिता र सवारीसाधन खरिदप्रतिको चासोले आगामी दिनमा अटो बजारको कारोबार बढ्न सक्ने संकेत गरेको व्यवसायीहरूको भनाइ छ।
एक्स्पोको समापनका दिन मात्रै ३० हजारभन्दा बढीले अवलोकन गरेका थिए। पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार, चौथो दिन ३१ हजार र पाँचौँ दिन ४२ हजारभन्दा बढी अवलोकनकर्ता आएको आयोजकले जनाएको छ।
एक्स्पोमा मानिसको उपस्थिति मात्र नभई सवारीसाधन खरिदका लागि भएको इन्क्वायरी र बुकिङसमेत अपेक्षाभन्दा राम्रो भएको आयोजकको भनाइ छ। अटो शो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले अपेक्षा गरेभन्दा धेरै अवलोकनकर्ता आएको र त्यसैअनुसार इन्क्वायरी तथा बुकिङ पनि उत्साहजनक रहेको बताए।
‘हामीले अपेक्षा गरेभन्दा धेरै नै बढी मानिसले मेला अवलोकन गर्नुभएको छ,’ उनले भने, ‘सोचेभन्दा धेरै अवलोकनकर्ता, सोचेभन्दा राम्रो इन्क्वायरी र सोचेभन्दा राम्रो बुकिङ भएको छ।’
उनका अनुसार एक्स्पोमा देखिएको उपभोक्ता चासोले अटोमोबाइल व्यवसायीलाई बजारको वास्तविक माग र ग्राहकको प्राथमिकता बुझ्न महत्वपूर्ण आधार दिएको छ।
नयाँ उत्पादनले बढायो प्रतिस्पर्धा
एक्स्पोमा ५५ भन्दा बढी ब्रान्ड सहभागी भएका थिए भने ५३ वटा नयाँ उत्पादन सार्वजनिक गरिएको थियो। विभिन्न ब्रान्डका नयाँ मोडल र प्रविधि एकै स्थानमा प्रदर्शन गरिएपछि उपभोक्ताले सवारीसाधनको मूल्य, प्रविधि, डिजाइन तथा सुविधाका आधारमा तुलना गर्ने अवसर पाएका थिए।
विशेषगरी विद्युतीय सवारीसाधन, नयाँ प्रविधि, चार्जिङ पूर्वाधार तथा मोबिलिटी समाधानमा केन्द्रित प्रदर्शनीले नेपालको अटो बजार परम्परागत सवारीसाधनबाट नयाँ प्रविधितर्फ तीव्र रूपमा अघि बढिरहेको संकेत गरेको व्यवसायीहरूको बुझाइ छ।
नाइमा अध्यक्ष रितु सिंह वैद्यले ठूलो संख्यामा उपभोक्ताको सहभागिता र नयाँ उत्पादनको सार्वजनिक हुनु एक्स्पोको प्रमुख उपलब्धि भएको बताइन्। उनका अनुसार १ लाख ८० हजारभन्दा बढी मानिस एक्स्पोमा सहभागी हुनु नाइमा जस्तो युवा संस्थाका लागि ठूलो उत्साह र प्रोत्साहनको विषय हो।
उपभोक्ता चासोले बजारको सम्भावना बढायो
अटोमोबाइल बजारमा बिक्रीको गति, आयात, वित्तीय सुविधा र उपभोक्ताको क्रयशक्तिले कारोबार निर्धारण गर्ने भए पनि एक्स्पोमा देखिएको भीडले सवारीसाधनप्रतिको उपभोक्ता चासो कमजोर नभएको देखाएको व्यवसायीहरूको भनाइ छ।
नाइमाका बोर्ड सदस्य क्याबिनेट श्रेष्ठले एक्स्पोमा ठूलो संख्यामा मानिसको आगमन हुनु अटो उद्योगका लागि सुखद संकेत भएको बताए। त्यस्तै, नाइमाको स्ट्राटेजी एन्ड मेम्बरसिप अफेयर्स कमिटीका अध्यक्ष आकाश गोल्छाले एक्स्पोको समग्र सफलतालाई ‘सुपरहिट’ भएको बताए।
प्रदर्शनीसँगै बजार अध्ययनको अवसर
नाइमा एक्स्पो बिक्री र बुकिङ गर्ने थलोमा मात्र सीमित रहेन। यसले उपभोक्ताको रुचि, मूल्यप्रतिको संवेदनशीलता, नयाँ प्रविधिप्रतिको आकर्षण र ब्रान्ड छनोटको प्रवृत्तिबारे व्यवसायीलाई प्रत्यक्ष जानकारी लिने अवसरसमेत दिएको छ।
नाइमा कार्यकारी निर्देशक राजकुमार दुलालले एक्स्पोलाई सवारीसाधन प्रदर्शन गर्ने थलो मात्र नभई ज्ञान, सहकार्य र मागकेन्द्रित व्यवस्थापनको प्लेटफर्मका रूपमा विकास गरिएको बताए।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पोले अटोमोबाइल व्यवसायलाई नयाँ प्रविधि र बदलिँदो उपभोक्ता मागसँग जोड्ने प्रयास गरेको उनको भनाइ छ।
एक्स्पोमा देखिएको ठूलो उपभोक्ता सहभागिता, नयाँ उत्पादनप्रतिको आकर्षण, इन्क्वायरी र बुकिङले आगामी दिनमा अटोमोबाइल बजारमा थप प्रतिस्पर्धा र नयाँ लगानीको सम्भावना बढाउने अपेक्षा व्यवसायीहरूले गरेका छन्। सुस्त बजारको चर्चाबीच एक्स्पोमा देखिएको उत्साहले भने नेपाली अटो बजारमा मागको सम्भावना अझै बलियो रहेको संकेत गरेको छ।
प्रतिक्रिया