राजस्वमा उत्साहजनक सुरुवात

पहिलो महिनामै सरकारको ढुकुटीमा ९३ अर्ब ४३ करोड राजस्व संकलन, ४१ अर्ब ८८ करोड खर्च

सोमबार, ०१ भदौ २०८३, १२ : २३

काठमाडौं- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमै सरकारले ९३ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सरकारले कर, गैरकर तथा अन्य शीर्षकबाट उक्त राजस्व सङ्कलन गरेको हो ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो महिनामा राजस्व सङ्कलन ७ अर्ब ९१ करोड ६६ लाख रुपैयाँले बढेको छ । गत आर्थिक वर्षको साउनमा सरकारले ८५ अर्ब ५१ करोड ९७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

सरकारले चालु आर्थिक वर्षमा कर राजस्वबाट मात्रै १४ खर्ब ३ अर्ब ३१ करोड ८३ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको छ । साउन महिनामा कर राजस्वतर्फ ८५ अर्ब १९ करोड ६ लाख रुपैयाँ सङ्कलन भएको छ । यो वार्षिक कर राजस्व लक्ष्यको करिब ६.०७ प्रतिशत हो ।

त्यस्तै, साउनमा गैरकर राजस्वतर्फ ७ अर्ब ३ करोड ४७ लाख रुपैयाँ सङ्कलन भएको छ । अनुदानबाट २४ करोड ३ लाख रुपैयाँ प्राप्त भएको छ भने अन्य शीर्षकबाट ९७ करोड ७ लाख रुपैयाँ प्राप्ति भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

पहिलो महिनामै ४१ अर्ब ८८ करोड खर्च

राजस्व सङ्कलनसँगै सरकारले चालु आर्थिक वर्षको पहिलो महिनामा ४१ अर्ब ८८ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ ।

साउनमा सरकारले चालु खर्चतर्फ २१ अर्ब ४० करोड ३८ लाख रुपैयाँ खर्च गरेको छ । त्यस्तै, पुँजीगत अर्थात् विकास खर्चतर्फ १३ अर्ब २८ करोड ५० लाख रुपैयाँ भुक्तानी भएको छ ।

वित्तीय व्यवस्थातर्फ भने सरकारले १९ अर्ब १५ करोड ३५ लाख रुपैयाँ खर्च गरेको तथ्याङ्कमा उल्लेख छ ।

गत आर्थिक वर्षको साउनमा सरकारको कुल खर्च ४६ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । यस आधारमा चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारको कुल खर्च गत वर्षको तुलनामा कम देखिएको छ ।

राजस्व सङ्कलनमा भने गत वर्षको तुलनामा सुधार देखिएको छ । साउनमै ९३ अर्बभन्दा बढी राजस्व उठ्नुले सरकारको आम्दानीतर्फ सकारात्मक सुरुवात देखिए पनि विकास खर्चको गति भने अझै बढाउनुपर्ने देखिन्छ ।

सोमबार, ०१ भदौ २०८३, १२ : २३

प्रतिक्रिया