काठमाडौं– नेपालको चर्चित तथा ठूलो व्यवसायिक अटोमोबाइल प्रदर्शनी ‘एचपी लुब्रिकेन्ट्स प्रेजेन्ट्स नाडा अटो शो २०२६’ आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गर्ने यस वर्षको प्रदर्शनी नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वर्ण उत्सव संस्करण’ का रूपमा आयोजना गर्न लागिएको हो। प्रदर्शनीको शीर्ष प्रायोजकमा एचपी लुब्रिकेन्ट्स रहेको आयोजकले जनाएको छ।
छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपालको तीव्र रूपमा विकसित हुँदै गएको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको आर्थिक, सामाजिक र व्यावसायिक अवस्थालाई प्रस्तुत गरिनेछ। प्रदर्शनीमा अटोमोबाइल कम्पनीहरूले आफ्ना नयाँ सवारीसाधन, प्रविधि, उत्पादन तथा सेवा सार्वजनिक गर्नुका साथै ग्राहक र व्यवसायिक सरोकारवालासँग प्रत्यक्ष सम्पर्क गर्ने अवसर पाउनेछन्।
करिब तीन लाख वर्गफुट क्षेत्रफलमा आयोजना हुने नाडा अटो शोमा २०० भन्दा बढी स्टल रहनेछन्। प्रदर्शनीमा २३ वटा ब्रान्डका प्यासेन्जर कार, १७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल, १३ वटा ब्रान्डका दुईपांग्रे सवारीसाधन, १० वटा वित्तीय तथा बीमा सेवा प्रदायक र करिब ७० वटा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण तथा अन्य अटोमोबाइलसम्बन्धी उत्पादन तथा सेवाका स्टल रहनेछन्।
प्रदर्शनीमा नेपालमै एसेम्बल हुने सवारीसाधनसँगै स्वदेशमा उत्पादन भएका ल्युब, ब्याट्री, हेल्मेट तथा अन्य अटोमोबाइल कम्पोनेन्टलाई समेत प्राथमिकताका साथ प्रदर्शन गरिने आयोजकले जनाएको छ।
यस वर्षको नाडा अटो शोमा भविष्यको मोबिलिटी प्रविधि, स्वदेशी उत्पादनको प्रवद्र्धन, नयाँ उत्पादन तथा मोडलको सार्वजनिक, स्मार्ट मोबिलिटी र दिगो यातायात विकाससम्बन्धी सिम्पोसियम मुख्य आकर्षणका रूपमा रहनेछन्। भविष्यमा यातायात क्षेत्रमा भित्रिन सक्ने प्रविधि र त्यसले ल्याउने परिवर्तनबारे आगन्तुकलाई प्रत्यक्ष अनुभव गराउने उद्देश्यसमेत राखिएको छ।
प्रदर्शनीमा दुईपांग्रे, चारपांग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स तथा ग्यारेज उपकरणका लागि छुट्टाछुट्टै जोनको व्यवस्था गरिनेछ। दर्शकले खल्ती एपमार्फत अग्रिम टिकट खरिद गर्न सक्नेछन् भने निश्चित अवधिका लागि ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार सञ्चारकर्मीका लागि मिडिया डेस्क, महानगरीय ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक सूचना डेस्क, क्याफेटेरिया तथा पार्किङको व्यवस्थासमेत गरिनेछ। नेपाल पुलिस क्लबको ब्लु पेभिलियनको अन्डरग्राउन्ड पार्किङ तथा सिंहदरबारस्थित नेशनल ट्रेडिङ परिसरमा समेत पार्किङको व्यवस्था मिलाउने पहल गरिएको छ।
प्रदर्शनी स्थलमा आपतकालीन स्वास्थ्य टोली, सीसीटीभीमार्फत सुरक्षा निगरानी तथा आगलागी नियन्त्रणको व्यवस्था गरिनेछ। प्रदर्शनीलाई ह्वीलचेयरमैत्री बनाउने तयारीसमेत गरिएको छ।
नाडाले नाडा अटो शो २०२६ मा अटोमोबाइलप्रेमी, उद्योगी–व्यवसायी, व्यावसायिक प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणलाई सहभागी हुन आह्वान गरेको छ।
प्रतिक्रिया