म्याग्दी– विदेश जाने र सहर पस्ने सपना धेरैको हुन्छ । तर पर्वतको जलजला गाउँपालिका–८ फर्सेका चिरञ्जीवी श्रेष्ठको यात्रा भने फरक छ ।
दश वर्ष कतार बसेर फर्किएपछि बागलुङ बजारमा ११ वर्ष तरकारी पसल सञ्चालन गर्नुभयो । व्यापार राम्रै चले पनि २१ वर्षपछि उहाँ फेरि आफ्नै जन्मथलो फर्किनुभयो । अहिले मालढुंगा–बेनी सडक छेउमा श्रेष्ठ कृषि तथा पशुपंक्षी फार्म सञ्चालन गरेर हाँस, लोकल कुखुरा, बोइलर कुखुरा र तरकारी उत्पादन गरिरहेका छन् ।
फार्मसँगै किराना पसल पनि सञ्चालनमा छ । विदेशको अनुभव, सहरको व्यवसाय र गाउँको माटोलाई जोडेर उद्यम गरिरहेका चिरञ्जीवीको जीवनयात्रा धेरैका लागि अनुशरणयोग्य बनेको छ ।
“एसएलसीसम्मको अध्ययन गरी रोजगारीको लागि १० वर्ष कतारमा बिताएर फर्किएपछि बुबा सुवास र आमा मीनाले गर्दै आएको तरकारीखेतीलाई बजारीकरणमा साथ दिन बागलुङ बजारमा ११ वर्ष तरकारी पसल चलाए”, उनले भने, “बजारको व्यापार सन्तोषजनक र सफल भए पनि २१ वर्षपछि जन्मथलो फर्किएर बुबाआमासँगै सात महिनाअघि सुरु गरेको फार्मबाट उत्साही छु ।”
आफन्तको तीन रोपनी जग्गा भाडामा लिएर रु २५ लाख लगानीमा हाँस, कुखुरापालन र व्यवसायका लागि संरचना बनाएका श्रेष्ठ परिवारले थप चार रोपनी जग्गामा मौसमी र बेमौसमी तरकारीखेती गरेका छन् ।
बुबाआमाले फर्सेमा उत्पादन गरेको तरकारी बागलुङमा बजारीकरण गरेका चिरञ्जीवी र उनकी श्रीमती रितुले रामरेखामा घर बनाएका छन्। एक जना छोरालाई उच्च शिक्षा अध्ययनका लागि क्यानडा पठाएका छन् भने अर्का छोरा काठमाडौँमा आइटी विषयमा स्नातकोत्तर अध्ययन गरिरहेका चिरञ्जीवीले बताए ।
तरकारीको तुलनामा सजिलो हुने र धौलागिरि क्षेत्रमा नयाँ भएकाले हाँस र कुखुरापालन सुरु गरेको श्रेष्ठले बताए । “दुई चरणमा प्रतिकिलो रु छ सयका दरले करिब चार सय हाँस बिक्रीबाट भएको आम्दानीले सात महिनाको दाना खर्च उठ्यो, एक सय वटा लोकल कुखुरा पनि बिक्री गरेको छ”, उनले भने, “सुरुआती आम्दानीले उत्साही बनाएको छ ।”
उनको फार्ममा हाल चार सय ५० वटा हाँस र एक सय ५० लोकल साकिनी र कोइलर जातका कुखुरा छन् । दुई वटा गाई पालेका उनिहरुले दैनिक छ लिटर दूध बिक्री गर्छन् । कुखुरा र हाँसको अण्डा पनि बिक्री हुन्छ । म्याग्दीको बेनी, पर्वतको कुश्मा र बागलुङ बजार नजिकै भएकाले हाँस र कुखुरालाई बजारको समस्या छैन् ।
उहाँले चिनियाँ मसकोवी जातको हाँस पाल्नुभएको छ । तीन महिना पालेपछि तीन किलोग्रामभन्दा बढी तौल हुन्छ । श्रेष्ठले हाँसको चल्ला पनि आफ्नै फार्ममा उत्पादन गर्न थाल्नु भएको छ । स्थानीयस्तरमै हाँसपालन सुरु भएपछि टाढाको बजारबाट मगाउनु नपरेको बेनी नगरपालिका–१ रत्नेचौरको रेष्टुरेष्ट व्यवसायी दिनेश रावलले बताउनुभयो । उहाँका अनुसार हाँसको मासुको छोइला उपभोक्ताको रोजाइमा परेको छ ।
चिरञ्जीवीका बुबा सुवास र आमा मीना छोराबुहारीले बूढेशकालमा जन्मथलो फर्किएर साथ र साहरा दिएकोमा खुसी व्यक्त गर्नुभयो । “एउटा परिवार दुईतिर हुँदा दुःख भएको थियो”, सुवासले भने, “विदेशको राम्रो कमाइ हुने जागीर र बजारको सुविधा त्यागेर छोराबुहारी गाउँ फर्किएकोमा हार्मीलाई गर्व लागेको छ ।”
तरकारीखेतीलाई निरन्तरता दिने र हाँसपालनलाई थप विस्तार गर्ने चिरञ्जिवीको योजना छ । उनीहरुका छिमेकी सावित्री खत्रीले धेरै मानिसहरु सुविधा र अवसरको खोजीमा बजार झर्ने र विदेशिने गर्दा गाउँबस्ति सुनसान भइरहेको अवस्थामा चिरञ्जीवीले गाउँमै सम्भावना देखाउने प्रयास गरेर सकारात्मक सन्देश प्रवाह गराएको बताए ।
प्रतिक्रिया