काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो।
बैंकले हाल कायम चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँको आधारमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर रहेको छ भने ६.५२६३ प्रतिशत नगद लाभांश रहेको छ। नगद लाभांशमा बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ।
४ प्रतिशत बोनस शेयरबापत बैंकले करिब १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ बराबरको शेयर वितरण गर्नेछ। त्यस्तै, ६.५२६३ प्रतिशत नगद लाभांशबापत करिब २४ करोड ३६ लाख ९७ हजार रुपैयाँ वितरण हुनेछ। यसरी बैंकले कुल करिब ३९ करोड ३० लाख ५९ हजार रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको छ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई वितरण गरिनेछ। राष्ट्र बैंकबाट कुनै संशोधन वा निर्देशन प्राप्त भएमा सोहीअनुसार लाभांश प्रस्ताव परिमार्जन गरी साधारणसभामा पेस गरिने बैंकले जनाएको छ।
यसअघि सार्वजनिक गरिएको बैंकको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार बैंकले उक्त आवमा ८८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४६.६९ प्रतिशत बढी हो।
प्रतिक्रिया