काठमाडौं- नेपालको प्रमुख अटोमोबाइल प्रदर्शनी नाडा अटो शो २०२६ को तयारी तीव्र पारिएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने १८औँ संस्करण भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ।
नाडाको ५०औँ वार्षिकोत्सवका अवसरमा यस वर्षको प्रदर्शनीलाई ‘स्वर्ण उत्सव संस्करण’ का रूपमा आयोजना गर्न लागिएको हो। एचपी लुब्रिकेन्ट्स मुख्य प्रायोजक रहेको अटो शोमा नयाँ प्रविधि, सवारी साधन तथा अटोमोबाइलसम्बन्धी उत्पादन र सेवा प्रदर्शन गरिनेछ।
करिब तीन लाख वर्गफुट क्षेत्रफलमा हुने प्रदर्शनीमा दुई सयभन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक, हलुका व्यावसायिक तथा दुईपाङ्ग्रे सवारीका विभिन्न ब्रान्डसँगै वित्तीय तथा बीमा कम्पनी र अटोमोबाइल पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स तथा ग्यारेज उपकरणका स्टलसमेत रहनेछन्।
यस वर्षको मुख्य आकर्षण नयाँ मोडल र अत्याधुनिक प्रविधि हुने आयोजकले जनाएको छ। नेपालमै उत्पादन तथा एसेम्बल हुने सवारी, ब्याट्री, हेल्मेट, लुब्रिकेन्ट्सलगायत सामग्रीलाई समेत प्राथमिकताका साथ प्रदर्शन गरिनेछ। स्मार्ट मोबिलिटी, दिगो यातायात र कनेक्टिभिटीबारे विज्ञ तथा सरोकारवालाबीच छलफलसमेत आयोजना गरिनेछ।
आगन्तुकको सहजताका लागि दुईपाङ्ग्रे, चारपाङ्ग्रे, वित्तीय संस्था तथा पार्टपुर्जा र ग्यारेज उपकरणका छुट्टाछुट्टै क्षेत्र निर्धारण गरिनेछ। टिकट खल्ती एपमार्फत अग्रिम खरिद गर्न सकिनेछ भने निश्चित अवधिमा टिकट खरिद गर्दा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको छ।
प्रदर्शनीमा मिडिया डेस्क, ट्राफिक सूचना डेस्क, क्याफेटेरिया तथा पार्किङको व्यवस्था गरिनेछ। साथै, आपत्कालीन स्वास्थ्य सेवा, सीसीटीभी निगरानी, आगलागी नियन्त्रण र ह्विलचेयरमैत्री संरचनासहित सुरक्षा तथा सुविधाको व्यवस्था गरिने आयोजकले जनाएको छ।
६ दिनसम्म सञ्चालन हुने अटो शोमा करिब दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। नाडाले अटोमोबाइलप्रेमी, उद्योगी–व्यवसायी, व्यावसायिक प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणलाई प्रदर्शनीमा सहभागी हुन आग्रह गरेको छ।
प्रतिक्रिया