काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ७० हजार ४४१ जना नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको साउन महिनाको तथ्यांकअनुसार रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७० हजारभन्दा बढी पुगेको हो ।
श्रम स्वीकृति लिनेमा पुरुषको संख्या उल्लेख्य बढी रहेको छ । कुल श्रम स्वीकृतिमध्ये ६० हजार ४७२ जना अर्थात् ८५.८ प्रतिशत पुरुष छन् भने ९ हजार ९६९ जना अर्थात् १४.२ प्रतिशत महिला रहेका छन् ।
मुलुकगत रूपमा हेर्दा नेपाली श्रमिकको पहिलो रोजाइमा संयुक्त अरब इमिरेट्स ९यूएई० परेको छ । साउनमा मात्रै यूएईका लागि १८ हजार ७८४ जनाले श्रम स्वीकृति लिएका छन् । त्यसपछि मलेसियाका लागि १२ हजार ४९८, कतारका लागि १० हजार ३६०, साउदी अरबका लागि ८ हजार ६१३ र कुवेतका लागि ४ हजार ५६७ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै, रोमानियाका लागि २ हजार ९०८ जनाले श्रम स्वीकृति लिएका छन् ।
खाडी मुलुकबाहेक जापान, ओमान, पोर्चुगल र टर्कीप्रति पनि नेपाली श्रमिकको आकर्षण बढ्दो देखिएको विभागको तथ्यांकले देखाएको छ ।
जिल्लागत रूपमा वैदेशिक रोजगारीमा जानेको संख्या तराईका जिल्लामा बढी देखिएको छ । सबैभन्दा धेरै धनुषाका ३ हजार ३६८ जनाले श्रम स्वीकृति लिएका छन् । झापाका ३ हजार १४५, मोरङका २ हजार ८३५, सिराहाका २ हजार ६४८ र महोत्तरीका २ हजार ६२९ जनाले श्रम स्वीकृति लिएका छन् ।
श्रमिकको दक्षताका आधारमा सबैभन्दा ठूलो हिस्सा दक्ष श्रमिकको रहेको छ । साउनमा ४० हजार ४९६ जना दक्ष श्रमिकका रूपमा वैदेशिक रोजगारीमा गएका छन् । यस्तै, १७ हजार ९९९ जना अदक्ष र ११ हजार ४६५ जना अर्धदक्ष श्रमिक रहेका छन् । उच्च दक्ष र व्यावसायिक क्षेत्रमा जाने श्रमिकको संख्या भने निकै कम छ । उच्च दक्षतर्फ १०३ जना र व्यावसायिक क्षेत्रमा ३७८ जनाले श्रम स्वीकृति लिएका छन् ।
श्रम स्वीकृतिको प्रक्रियातर्फ भने सबैभन्दा धेरै २९ हजार ४४७ जनाले म्यानपावर कम्पनीमार्फत श्रम स्वीकृति लिएका छन् । २७ हजार ७४८ जनाले व्यक्तिगत रूपमा पुनः श्रम स्वीकृति लिएका छन् । यस्तै, १२ हजार ४४२ जनाले नयाँ व्यक्तिगत श्रम स्वीकृति लिएका छन् भने ७१२ जना सरकार–देखि–सरकार प्रक्रियामार्फत वैदेशिक रोजगारीमा गएका छन् ।
प्रतिक्रिया