आजदेखि निजी सवारीका लागि पनि खुला भयो नागढुंगा सुरुङ मार्ग

सोमबार, ०८ भदौ २०८३, १४ : ०४

काठमाडौं - राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नागढुंगा सुरुङ मार्गको उद्घाटन करिब एक महिनाअघि गरिए पनि सबै प्रकारका सवारी साधनको लागि खुला गरिएको थिएन ।  सोमबारदेखि मात्र निजि सवारी साधनका लागि पनि सञ्चालनमा ल्याइएको छ ।

सोमबार बिहान ९ बजेदेखि इमर्जेन्सी सवारी, एम्बुलेन्स, सरकारी प्लेटका सवारीसहित ९ सिटसम्मका निजी सवारी साधनलाई आवागमन खुला गरिएको नागढुंगा सुरुङ मार्ग सुरक्षा यूनिटका उपप्रमुख कविराज श्रेष्ठले बताए ।

परीक्षणस्वरुप यी सवारीलाई निश्चित समयका लागि सुरुङ मार्ग प्रवेश खोलिएको हो । यसपछि अन्य सवारीलाई पनि क्रमशः सुरुङ खुला गर्ने तयारी छ ।

तत्कालका लागि निजी सवारीलाई पनि कुनै शुल्क नलाग्ने श्रेष्ठले बताए । उनका अनुसार बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सुरुङ सञ्चालन गरिने छ । आज बिहानदेखि गुर्जुधारास्थित फ्लाइओभरको बाटो पनि सञ्चालन गरिएको उनले जानकारी दिए ।

करिब २९ अर्ब रुपैयाँ लगानीमा निर्मित मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्ग शिलान्यासको ७ वर्षपछि साउन ११ मा उद्घाटन गरिएको थियो । नेपालका लागि जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा। तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकास मन्त्री सुनील लम्सालले सुरुङको उद्घाटन गरेका थिए ।

२०७६ कात्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए । प्रारम्भिक सम्झौताअनुसार यसको निर्माण ४२ महिनामा सकिनुपर्ने थियो । कोभिड–१९, मुआब्जा विवादलगायत कारणले निर्माणमा ढिलाइ हुन पुग्यो ।

सोमबार, ०८ भदौ २०८३, १४ : ०४

प्रतिक्रिया