काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी, त्रिशूलीलगायत क्षेत्रमा भएको जनधन तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल ९नाडा० ले गहिरो दुःख व्यक्त गरेको छ।
नाडाले बाढीबाट प्रभावित नागरिक, व्यवसायी, श्रमिक तथा सुरक्षाकर्मीप्रति सहानुभूति व्यक्त गर्दै बेपत्ता तथा प्रभावित व्यक्तिहरूको तत्काल खोज, उद्धार र सुरक्षित स्थानान्तरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको सरकारको प्रशंसा गरेको छ। साथै, विपद्को यस कठिन समयमा नाडा सरकार र नागरिकको साथमा रहेको जनाएको छ।
रसुवा–केरुङ नाका नेपालको उत्तरी व्यापारिक तथा अटोमोबाइल आपूर्ति शृंखलाका लागि महत्वपूर्ण क्षेत्र भएकाले बाढीबाट भएको क्षतिले समग्र आपूर्ति व्यवस्थामा असर पार्न सक्ने नाडाको भनाइ छ। नाडामा आबद्ध सदस्य तथा अटोमोबाइल व्यवसायीका सामान र सवारीसाधन भन्सार क्षेत्रमा रहेकाले त्यहाँ भएको क्षतिको यकिन विवरण अझै प्राप्त भइनसकेको जनाएको छ।
नाडाले सडक, पुल, भन्सार, व्यापारिक संरचना तथा अन्य पूर्वाधारमा भएको क्षतिको तत्काल विस्तृत मूल्यांकन गर्न सरकारसँग आग्रह गरेको छ। साथै, बाढीबाट प्रभावित सडक तथा यातायात पूर्वाधारको शीघ्र पुनःस्थापना गरी सुरक्षित रूपमा आवागमन सञ्चालन गर्ने वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
रसुवा–केरुङ नाकाबाट हुने व्यापारिक गतिविधिलाई प्राथमिकताका साथ सहज बनाउन आवश्यक पहल गर्न पनि नाडाले आग्रह गरेको छ। अटोमोबाइल व्यवसाय, सवारीसाधन, भन्सार क्षेत्र तथा अन्य व्यापारिक सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी प्रभावित व्यवसायीलाई आवश्यक सहजीकरण गर्न सरकारसँग अनुरोध गरिएको छ।
नाडाले क्षतिग्रस्त सवारीसाधनको पहिचान तथा मूल्यांकन, बीमा दाबी र भन्सारसम्बन्धी प्रक्रियालाई विपद्को विशेष परिस्थितिलाई ध्यानमा राख्दै सरल र छिटो बनाउनुपर्ने धारणा राखेको छ।
विपद्को समयमा सरकार, सुरक्षा निकाय, स्थानीय तह, व्यवसायी तथा अन्य सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको नाडाले जनाएको छ। प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन निजी क्षेत्रका तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्न नाडा तयार रहेको समेत जनाएको छ।
नाडाले प्राकृतिक विपत्तिबाट प्रभावित सम्पूर्ण नागरिक तथा व्यवसायीको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाको काम प्रभावकारी रूपमा अघि बढोस् भन्ने कामना गरेको छ।
प्रतिक्रिया