काठमाडौं- चीनको तिब्बततर्फबाट २०८३ भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको भीषण तथा अकल्पनीय बाढी रसुवाबाट भोटेकोशी हुँदै त्रिशूली नदीको तटीय क्षेत्रमा तीव्र गतिमा अघि बढिरहेको भन्दै नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघले आसपासका जिल्लाका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
महासंघले नेपाल सरकारको सूचनाअनुसार नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत त्रिशूली नदीको तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो ।
अकल्पनीय तथा त्रासदीपूर्ण प्राकृतिक विपत्तिका कारण धेरै नागरिकले दुःखद रूपमा ज्यान गुमाएको, कैयौँ नागरिक बेपत्ता तथा सम्पर्कविहीन भएको र ठूलो संख्यामा नागरिक विस्थापित एवं प्रभावित भएको भन्दै महासंघले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
महासंघले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै बेपत्ता तथा सम्पर्कविहीन नागरिकको यथाशीघ्र खोजी तथा उद्धार गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
प्राकृतिक विपत्तिको कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि सबै पक्षको सहयोग अपरिहार्य रहेको भन्दै महासंघले आफूमा आबद्ध प्रदेश महासंघ, जिल्ला संघ, नगर संघ, व्यवसायी, कालिगढ तथा कर्मचारीहरूलाई सहयोगमा जुट्न अपिल गरेको छ ।
महासंघले विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि सक्दो आर्थिक सहयोग गर्न, आवश्यकताअनुसार राहत सामग्री तथा मानवीय सहयोग उपलब्ध गराउन र आ–आफ्नो स्थानबाट सहयोग संकलन गरी राहत अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ ।
त्यसैगरी प्रभावित क्षेत्रका व्यवसायी, कालिगढ, कर्मचारी तथा नागरिकको अवस्थाबारे जानकारी संकलन गरी आवश्यक सहयोगका लागि महासंघसँग समन्वय गर्न पनि अनुरोध गरिएको छ । विपत्तिको यस घडीमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मानवता, सहकार्य र एकताको भावनाका साथ पीडित नागरिकको सहयोगमा जुट्न महासंघले आह्वान गरेको छ ।
महासंघले गठन गरेको विपद् व्यवस्थापन तथा सामाजिक सेवा समितिमार्फत एकद्वार प्रणालीबाट राहत संकलन गरी महासंघको तर्फबाट प्रभावित क्षेत्रमा राहत वितरण गरिने जनाएको छ ।
महासंघले आफ्ना सम्पूर्ण प्रदेश महासंघ, आबद्ध संघ तथा नगर संघसहित व्यवसायी, कालिगढ र कर्मचारी समुदायलाई प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गर्दै विपत्तिको सामना गर्न एकताबद्ध भएर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया