काठमाडौं- भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गहिरो दुःख व्यक्त गरेको छ ।
नाडाले बाढी तथा प्राकृतिक विपद्मा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
राष्ट्रिय विपद्को यस घडीमा राज्यसँगै काँधमा काँध मिलाएर उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग गर्नु सबै नागरिकको कर्तव्य भएको नाडाले जनाएको छ । नाडाले नेपालका सम्पूर्ण अटोमोबाइल व्यवसायीलाई एकबद्ध भएर उद्धार तथा राहत कार्यमा सहयोग गर्न आह्वान गरेको छ ।
विपद्पछिको अवस्थामा सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सरकारी संयन्त्रले देखाएको तत्परता र अथक प्रयासप्रति नाडाले कृतज्ञता व्यक्त गरेको छ । प्रभावित जिल्लाका नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै आपतकालीन सूचना जारी गर्ने तथा उद्धार र राहतका कार्यमा समन्वय गर्ने सरकारी प्रयासको पनि नाडाले उच्च कदर गरेको जनाएको छ ।
तत्काल राहत तथा पुनरुत्थानका कार्यमा सहयोग पुर्याउने उद्देश्यले नाडाले ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’मा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
सरकार, निजी क्षेत्र, व्यवसायी तथा आम नागरिकको सामूहिक प्रयासबाट प्रभावित क्षेत्रको उद्धार, राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सकिने नाडाको विश्वास छ ।
यसैबीच, महाविपद् नाडा अटो शो २०२६ सञ्चालन भइरहेका बेला आएको भन्दै नाडाले आर्थिक गतिविधिलाई चलायमान राख्दै विपद्सँग जुध्नुपर्ने अवस्थालाई मध्यनजर गरी भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ निरन्तर सञ्चालन हुने जनाएको छ ।
नाडाले विपद्को सामना गर्न सबै पक्षलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्दै आर्थिक गतिविधिलाई समेत निरन्तर चलायमान बनाउन अपिल गरेको छ ।
प्रतिक्रिया