काठमाडौं– नेपालको जब पोर्टल तथा एचआर सेवा प्रदान गर्ने कम्पनी कुमारी जबले आफ्नो एआई प्रविधिमा आधारित एप्लिकेन्ट ट्र्याकिङ सिस्टम (Applicant Tracking System–ATS ) लाई लिंक्डइन (LinkedIn) सँग जोडेको छ । यसले नेपालमा रोजगारी दिने र लिने प्रक्रियालाई अझ सहज, छिटो र व्यवस्थित बनाउने कम्पनीले जनाएको छ ।
कुमारी जबमा हाल १० लाखभन्दा बढी जबसिकर (jobseeker) दर्ता भएका छन् भने नेपालमा लिंक्डइन प्रयोग गर्ने झन्डै २७ लाख प्रयोगकर्ता छन् । यी दुवैलाई जोड्दा रोजगारदाताले ३७ लाखभन्दा बढी जबसिकरसम्म पहुँच पु याउन सक्नेछन् । यसले रोजगारदातालाई आवश्यक सीप र अनुभव भएका मानिस खोज्न र उनीहरूसँग सम्पर्क गर्न झन् सजिलो हुने कम्पनीको भनाइ छ ।
कुमारी जबको एटीएसबाट रोजगारदाताले जबसिकर खोज्ने, आवेदन हेर्ने, एआईले प्रारम्भिक छनोट गर्ने, उपयुक्त उम्मेदवारको सूची बनाउने, अन्तर्वार्ता मिलाउने र अन्तिम छनोट गरी रोजगारी दिनेसम्मको सबै काम एउटै ठाउँबाट गर्न सक्छन् । यसले धेरैजसो म्यानुअल काम घटाएर एचआर टिमलाई छिटो र सही निर्णय लिन सहयोग गर्ने कम्पनीले बताएको छ ।
कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीका अनुसार रोजगारी दिने क्षेत्रमा प्रविधिको प्रयोग द्रुत गतिमा बढिरहेको छ । “कम्पनीहरूले उपयुक्त मानिस खोज्ने र छनोट गर्ने तरिका छिटो–छिटो फेरिँदै छ । सही मानिस भेट्टाउन र रोजगारी दिन प्रविधिको भूमिका झन् महत्त्वपूर्ण बन्दै गएको छ,“ उनले भने, “लिंक्डइनसँगको यो सहकार्य नेपालका व्यवसायलाई रोजगारी दिने प्रक्रिया अझ सहज र प्रभावकारी बनाउने दिशामा ठूलो कदम हो ।“
उनले थप भने, “हामी कुमारी जब एटीएसलाई खाली जागिरको सूचना राख्ने ठाउँमा मात्र सीमित राख्न चाहँदैनौं । जागिर सूचना राखेर आवेदन कुर्नुभन्दा रोजगारदाता आफैंले आवश्यक जबसिकर खोज्न सकून् भन्ने हाम्रो उद्देश्य हो । एआईमा आधारित रिजुम खोजी र एटीएसबाट जबसिकर खोज्ने, स्क्रिनिङ गर्ने, सूची बनाउने, ट्र्याक गर्ने र व्यवस्थापन गर्ने काम अझै छिटो र सजिलो बनाउन सकिन्छ ।“

जबसिकर छिटो भेट्टाउन एआईमा आधारित रिजुम तथा सी भी (CV) खोजी
कुमारी जबको एआईमा आधारित रिजुम वा सी भी (CV) खोजी सुविधाले रोजगारदातालाई की–वर्ड, सीप, पद, अनुभव, शैक्षिक योग्यता र ठेगानाका आधारमा आफ्नो डाटाबेसबाट उपयुक्त जबसिकर खोज्न मद्दत गर्छ ।
रोजगारदाताले आफूलाई कस्तो मानिस चाहिएको हो भन्ने कुरा सामान्य भाषामा लेखेर पनि खोज्न सक्छन्, र त्यसपछि एआईले सोही आवश्यकता अनुसार डाटाबेसमा भएका मिल्दो रिजुम पत्ता लगाउन मद्दत गर्छ ।
पहिले रोजगारदाताले जागिर सूचना राखेर आवेदन आउने पर्खनुपथ्र्यो, तर अब यो सुविधाले त्यो झन्झट हटाउँदै आफूलाई चाहिएको मानिस सिधै खोज्ने, सूची बनाउने, अन्तर्वार्ता लिने र रोजगारी दिने प्रक्रिया तुरुन्तै अघि बढाउने मौका दिन्छ ।
एआई–सञ्चालित एटीएसः स्क्रिनिङदेखि रोजगारीसम्म
कुमारी जबले आफ्नो एटीएसमा ओपनएआई (OpenAI) र गुगल जेमिनाई (Google Gemini) जस्ता एआई प्रविधि पनि जोडेको छ, जसले रोजगारदातालाई रोजगारी दिने प्रक्रियाका विभिन्न चरणमा सहयोग गर्छ।
यो प्रणालीले जबसिकरको प्रोफाइललाई सम्बन्धित जागिरको विवरण (जब डिस्क्रिप्सन) सँग तुलना गरेर सुरुमै छनोट गर्न सक्छ । साथै, जबसिकरको सीप, योग्यता, अनुभव र सम्बन्धित पदका लागि कत्तिको उपयुक्त छ भन्ने छोटो विवरण पनि एआईले नै तयार गरिदिन्छ । यसले हरेक सीभी हातैले हेर्नुपर्ने झन्झट घटाउँदै छिटो छनोट गर्न सहयोग गर्छ ।
प्लेटफर्ममा भएको ट्यालेन्ट पुल म्यानेजमेन्ट सुविधाबाट रोजगारदाताले जबसिकरको प्रोफाइल सुरक्षित राख्न, वर्गीकरण गर्न, ट्याग गर्न र भविष्यमा खाली जागिर आउँदा फेरि हेर्न सक्छन् ।
त्यस्तै एटीएस पाइपलाइन म्यानेजमेन्ट सुविधाले जबसिकर खोज्ने वा आवेदन आउने बेलादेखि स्क्रिनिङ, सूची बनाउने, अन्तर्वार्ता, छनोट र अन्तिममा रोजगारी दिनेसम्मको सम्पूर्ण प्रक्रिया एउटै ठाउँबाट ट्र्याक गर्न मद्दत गर्छ ।
रोजगारी प्रक्रिया थप व्यवस्थित र प्रविधिमैत्री बनाउने लक्ष्य
आफ्नो १० लाखभन्दा बढी जबसिकरको डाटाबेस, एआईमा आधारित रिजुम खोजी, एआई–सञ्चालित एटीएस, ट्यालेन्ट पुल म्यानेजमेन्ट र लिंक्डइनसँगको सहकार्यमार्फत कुमारी जबले रोजगारदातालाई जबसिकर खोज्नेदेखि अन्तिम रोजगारी दिनेसम्मको पूरा प्रक्रिया एउटै प्लेटफर्मबाट चलाउन सहयोग गर्ने लक्ष्य राखेको छ ।
यो पहल रोजगारीसम्बन्धी अनुभव, एआई, प्रोफेसनल नेटवर्क र डिजिटल उपकरणको प्रयोगमार्फत नेपालको रोजगारी क्षेत्रलाई थप सहज र आधुनिक बनाउने कम्पनीको योजनाको हिस्सा हो ।
कुमारी जबले आगामी दिनमा पनि एआईमा आधारित रोजगारी समाधानलाई थप विकास गर्दै, बदलिँदो रोजगारी बजारमा रोजगारदाता र जबसिकर दुवैलाई सहयोग गर्ने प्रविधिमैत्री एचआर प्लेटफर्मका रूपमा आफ्नो भूमिका विस्तार गर्ने जनाएको छ ।
कुमारी जबबारे
सन् २०१४ मा स्थापना भएको कुमारी जब प्रालि नेपालमा सञ्चालित जब पोर्टल तथा एचआर सेवा प्रदायक कम्पनी हो। यसले जबसिकरलाई रोजगारीको अवसरसँग जोड्नुका साथै विभिन्न संस्थालाई रोजगारी, खाली जागिर सूचना, एचआर आउटसोर्सिङ, कन्सल्टिङ र तालिमसम्बन्धी सेवा दिँदै आएको छ।
थप जानकारीका लागिः www.kumarijob.com
प्रतिक्रिया