त्रिशूली बाढीबाट भएको क्षतिप्रति निर्माण व्यवसायी महासंघ मर्माहत, यन्त्र–उपकरणसहित उद्धारमा जुट्न अपिल

विहीबार, ११ भदौ २०८३, १६ : ५७

काठमाडौं- त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवनलगायत जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति नेपाल निर्माण व्यवसायी महासंघले गहिरो दुःख व्यक्त गरेको छ ।

महासंघका अध्यक्ष निकोलस पाण्डेले बिहीबार विशेष अपिल जारी गर्दै बाढीमा परी निधन भएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता तथा प्रभावित नागरिकको खोजी, उद्धार र उपचारलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

महासंघले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार तथा स्वास्थ्य उपचारका लागि नेपाल सरकारका सम्बन्धित निकायले गरिरहेका प्रयासमा आवश्यक सहयोग गर्न आफू तयार रहेको जनाएको छ । साथै, बाढीपीडितको सहयोगार्थ निर्माण व्यवसायी कोषमार्फत छिट्टै राहत घोषणा गरिने महासंघले जानकारी दिएको छ ।

Fcan Prez

विपत्तिको विषम परिस्थितिमा शोकलाई शक्तिमा बदल्दै संयमता र धैर्यका साथ आपसी सहयोगमा जुट्न महासंघले सम्पूर्ण निर्माण व्यवसायीलाई आग्रह गरेको छ । विशेषगरी विपद्बाट प्रभावित निर्माण श्रमिक, मजदुरलगायत नागरिकको खोज तथा उद्धारमा आ–आफ्ना यन्त्र, उपकरण तथा स्रोतसाधनसहित सक्रिय हुन महासंघले अपिल गरेको छ ।

महासंघ अध्यक्ष पाण्डेले महाविपत्तिमा परेका हजारौँ नागरिकप्रतिको सच्चा सम्मान तथा राष्ट्रिय एकताको परिचय दिन उद्धार र राहत कार्यलाई तीव्रता दिनुपर्ने बताएका छन् । उनले सबै राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्था र आम नागरिकलाई समेत विपद्को समयमा एकजुट भएर सहयोगमा जुट्न अनुरोध गरेका छन् ।

विहीबार, ११ भदौ २०८३, १६ : ५७

प्रतिक्रिया