नेपाल बैंकले बाढीपीडितका लागि ३ करोड १ लाख रुपैयाँ सहयोग

शुक्रबार, १२ भदौ २०८३, १३ : ०६

काठमाडौं– रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि नेपाल बैंक लिमिटेडले ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। भदौ १० गते बिहान आएको बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएपछि बैंकले विपद्पीडित नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल बैंकका सञ्चालक समितिका सदस्य अमृत लम्सालले ३ करोड १ लाख रुपैयाँको चेक अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्। सो अवसरमा अर्थमन्त्री वाग्लेले बाढीपीडितका लागि संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट आर्थिक सहयोग गरेकोमा नेपाल बैंक परिवारप्रति धन्यवाद व्यक्त गरे।

कार्यक्रममा सञ्चालक समितिका सदस्य लम्सालले नेपाल बैंकले दैवी तथा प्राकृतिक प्रकोप, महाभूकम्प, महामारीको रोकथाम तथा नियन्त्रणलगायत विभिन्न राष्ट्रिय विपद्का समयमा आर्थिक सहयोग गर्दै आएको उल्लेख गरे। सोही सहयोगलाई निरन्तरता दिँदै भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सहयोग गरिएको उनले बताए।

उनले आगामी दिनमा पनि राष्ट्रिय विपद्का समयमा बैंकको तर्फबाट यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

नेपाल बैंकले बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गरेको छ।

कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य बद्री खनाल, प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्का तथा सुशासन डिभिजन प्रमुख होमनाथ दाहालको उपस्थिति रहेको थियो।

शुक्रबार, १२ भदौ २०८३, १३ : ०६

प्रतिक्रिया