काठमाडौं– २०८३ भदौ १० गते आएको बाढीपहिरोका कारण रसुवा, धादिङ, नुवाकोट र चितवन जिल्लामा प्रभावित दूरसञ्चार सेवा सुचारु गर्न नेपाल टेलिकमले मर्मत तथा पुनःस्थापनाको काम तीव्र बनाएको छ।
बाढीपहिरोका कारण मानवीय तथा भौतिक संरचनामा क्षति पुगेसँगै ती जिल्लाका विभिन्न स्थानमा सञ्चालित दूरसञ्चार सेवा प्रभावित भएका थिए। सेवा पुनः सञ्चालनका लागि नेपाल टेलिकमले आवश्यक उपकरण, जेनेरेटर, इन्धन तथा प्राविधिक कर्मचारी परिचालन गरेको जनाएको छ।
रसुवाका विभिन्न स्थानमा सेवा सञ्चालन गर्न न्यौपानेचौर तथा राम्चे रिपिटर साइटमा हेलिकोप्टरमार्फत जेनेरेटर, ब्याट्रीलगायतका उपकरण पठाइएको छ। त्यसबाट न्यौपानेचौर तथा राम्चे आसपासका केस्पाङ ९काउले०, ठुलेगाउँ, तादी, फिकुरी, कालिकास्थान, ग्राङ, डाँडागाउँ, मैलुङ, पाङसाङ डाँडा, लाङटाङ र क्याङ्जिनलगायतका क्षेत्रमा सेवा सुचारु गरिएको टेलिकमले जनाएको छ।
धुन्चेमा सेवा सञ्चालनका लागि पनि जेनेरेटर, इन्धन तथा कर्मचारी परिचालन गरिएको छ। यस्तै, नुवाकोटको मदनपुर, बट्टार र विदुर बसपार्क तथा धादिङको बैरेनी र ठमेल डाँडामा जेनेरेटर तथा इन्धनसहित कर्मचारी परिचालन गरी सेवा सुचारु गर्ने काम भइरहेको छ।
प्रभावित क्षेत्रका प्राथमिकताप्राप्त साइटलाई अनवरत सञ्चालनमा ल्याउन आवश्यक उपकरण तथा जनशक्ति परिचालन गरिएको छ। सञ्चालनमा रहेका अन्य बीटीएसमा कभरेज तथा क्षमता विकास र अप्टिमाइजेसन गरी सेवा थप प्रभावकारी बनाउने कामसमेत भइरहेको नेपाल टेलिकमले जनाएको छ।
टेलिकमका अनुसार चितवनका ५ मध्ये ३, धादिङका ३६ मध्ये १३, नुवाकोटका ७९ मध्ये ३१ र रसुवाका ३२ मध्ये १३ साइट प्रभावित भएका थिए। प्रभावित देखिएका कुल १५२ साइटमध्ये ६० साइट अझै सञ्चालनमा आउन बाँकी छन्। ती साइटलाई समेत यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक प्राविधिक कार्य भइरहेको कम्पनीले जनाएको छ।
विपद्को अवस्थामा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन सेवा निरन्तरता, पूर्वसूचना तथा सचेतना र आवश्यक प्राविधिक कार्यलाई उच्च प्राथमिकतामा राखिएको नेपाल टेलिकमले जनाएको छ। प्रभावित क्षेत्रमा सेवा पुनःस्थापित भएपछि नागरिकलाई आफन्तजनसँग सञ्चार सम्पर्क कायम गर्न थप सहज हुने कम्पनीको विश्वास छ।
प्रतिक्रिया