एनआईसी एशियाका तीन शाखा बाढीले पूर्णरूपमा क्षतिग्रस्त, कार्यरत सबै कर्मचारीहरु सुरक्षित

शुक्रबार, १२ भदौ २०८३, १३ : २५

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको भीषण बाढीका कारण एनआईसी एशिया बैंकका तीनवटा शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।

बाढीका कारण रसुवास्थित स्याफ्रुबेंसी शाखा र नुवाकोटस्थित बेत्रावती शाखा कार्यालय रहेको भवन नै बाढीले बगाएको बैंकले जनाएको छ। त्यस्तै, त्रिशूली शाखा कार्यालय पनि पूर्णरूपमा क्षतिग्रस्त भई माटोले पुरिएको अवस्थामा रहेको छ।

शाखा कार्यालयहरूमा ठूलो क्षति पुगेका कारण अर्को व्यवस्था नभएसम्मका लागि ती तीनवटै शाखा बन्द रहने बैंकले जनाएको छ।

बैंकका अनुसार प्रभावित क्षेत्रमा कार्यरत सबै कर्मचारी हाल सुरक्षित स्थानमा रहेका छन्। आवश्यक परेको अवस्थामा कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई समेत हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी अवस्थामा बैंक रहेको छ।

अकल्पनीय रूपमा आएको बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति बैंकले दुःख व्यक्त गरेको छ। बैंकले बाढीमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।

साथै, सम्पर्कविहीन नागरिकहरूको सकुशल शीघ्र उद्धार तथा बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना बैंकले गरेको छ।

शुक्रबार, १२ भदौ २०८३, १३ : २५

प्रतिक्रिया