एल.पी. ग्यास उद्योग संघ नेपालद्वारा बाढीपीडितको उद्धार र राहतमा सहयोग गर्न आग्रह

शुक्रबार, १२ भदौ २०८३, १३ : ४५

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँलगायतका विभिन्न जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति एलपी ग्यास उद्योग संघ नेपालले गहिरो दुःख व्यक्त गरेको छ।

संघले अचानक आएको भीषण बाढीका कारण ठूलो संख्यामा नागरिकको ज्यान गएको, कैयौं व्यक्ति बेपत्ता तथा घाइते भएको र घरबस्ती, उद्योग–व्यवसाय, सडक, पुल, जलविद्युत आयोजना, यातायातका साधन तथा अन्य महत्वपूर्ण भौतिक संरचनामा गम्भीर क्षति पुगेको जनाएको छ।

संघले बाढी तथा विपद्का कारण ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकको तत्काल उद्धार, राहत, उपचार तथा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राख्न संघले आग्रह गरेको छ। खाद्यान्न, औषधि, खानेपानीलगायत अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न नेपाल सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायबाट भइरहेको प्रयासमा आवश्यक सहयोग र सहकार्य गर्न संघ प्रतिबद्ध रहेको जनाएको छ।

संघले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न सम्पूर्ण उद्योगी, व्यवसायी, संघसंस्था तथा आम नागरिकलाई समेत हार्दिक आह्वान गरेको छ।

त्यस्तै, प्रभावित क्षेत्रमा एलपी ग्यासजस्तो अत्यावश्यक वस्तुको आपूर्ति तथा वितरणमा कुनै समस्या उत्पन्न हुन नदिन सम्बन्धित एलपी ग्यास उद्योगी तथा व्यवसायीहरूलाई आवश्यक सहयोग र सहकार्य गर्न संघले आग्रह गरेको छ।

शुक्रबार, १२ भदौ २०८३, १३ : ४५

प्रतिक्रिया