नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा तीन दिन थप्यो

शुक्रबार, १२ भदौ २०८३, १३ : ४९

काठमाडौं– रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित सेवाग्राहीलाई नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस कल, डाटा तथा एसएमएस सुविधा थप तीन दिनका लागि विस्तार गरेको छ।

यसअघि नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीका लागि दुई दिन निःशुल्क भ्वाइस कल, प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएस उपलब्ध गराउने निर्णय गरेको थियो। अब उक्त सुविधा भदौ १२, १३ र १४ गतेसम्म निरन्तर उपलब्ध हुने कम्पनीले जनाएको छ।

भोटेकोशी तथा त्रिशूली नदीको बहाव तीव्र रूपमा बढिरहेका बेला नेपाल टेलिकमले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र आवश्यक परे तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ। साथै, बाढी प्रभावित तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउन एसएमएसमार्फत समेत अनुरोध गरिएको थियो।

विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई आफन्त, उद्धार तथा राहतकर्मी र सम्बन्धित सरकारी निकायसँग सहज रूपमा सम्पर्क गर्न सकून् भन्ने उद्देश्यले निःशुल्क सञ्चार सुविधा उपलब्ध गराइएको नेपाल टेलिकमले जनाएको छ।

बाढीका कारण नेपाल टेलिकमका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा क्षतिग्रस्त संरचनाको मर्मत–सम्भार गर्न कम्पनीका प्राविधिक टोली निरन्तर परिचालन भइरहेका छन्।

विपद्को अवस्थामा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन सेवा निरन्तरता, पूर्वसूचना तथा सचेतना र आवश्यक प्राविधिक सहयोगलाई उच्च प्राथमिकतामा राखिएको नेपाल टेलिकमले जनाएको छ। निःशुल्क सञ्चार सुविधाले प्रभावित नागरिकलाई आफन्तजन तथा उद्धार र राहतमा खटिएका निकायसँग नियमित सम्पर्कमा रहन सहयोग पुग्ने कम्पनीको विश्वास छ।

शुक्रबार, १२ भदौ २०८३, १३ : ४९

प्रतिक्रिया