बाढी प्रभावित ऋणीलाई कर्जा पुनर्तालिकीकरण र भुक्तानीमा सहजीकरण गर्न सिबिफिनको पहल

शुक्रबार, १२ भदौ २०८३, १३ : ५८

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ ९सिबिफिन०ले गहिरो दुःख व्यक्त गर्दै प्रभावित व्यक्ति, व्यवसाय तथा परियोजनालाई आवश्यक बैंकिङ सहजीकरण उपलब्ध गराउन पहल गर्ने जनाएको छ।

सिबिफिनले बाढीमा परी ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता नागरिक, सुरक्षाकर्मी तथा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलगायत सबैको शीघ्र खोजी तथा उद्धारको अपेक्षा गर्दै उद्धार तथा राहतमा खटिएका सम्पूर्ण निकाय र व्यक्तिप्रति सम्मान व्यक्त गरेको छ।

बाढीका कारण बैंक तथा वित्तीय संस्थाका शाखा तथा अन्य बैंकिङ पूर्वाधार, मानवीय बस्ती, जलविद्युत आयोजना, सडक, पुल, व्यापारिक प्रतिष्ठान तथा केरुङ नाकाबाट भित्रिएका मालवस्तु र सवारीसाधनमा समेत ठूलो क्षति पुगेको सिबिफिनले जनाएको छ।

प्रभावित क्षेत्रमा जलविद्युत, व्यापार, पर्यटन, पूर्वाधारलगायतका क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको उल्लेख्य कर्जा तथा लगानी रहेकाले बाढीको असर ऋणी, व्यवसाय, बैंकिङ सेवा तथा समग्र आर्थिक गतिविधिमा समेत पर्न सक्ने सिबिफिनको भनाइ छ।

सिबिफिनले विपद्को अवस्थामा मानवीय उद्धार तथा राहतसँगै कर्मचारी र ग्राहकको सुरक्षा पहिलो प्राथमिकता रहेको जनाएको छ। प्रभावित क्षेत्रमा ग्राहकको बैंकिङ पहुँच यथाशीघ्र सहज बनाउन बैंक तथा वित्तीय संस्थाहरूले वैकल्पिक सेवा प्रवाहसहित आवश्यक व्यवस्था गरिरहेको जनाएको छ।

वास्तविक रूपमा प्रभावित व्यक्ति, व्यवसाय तथा परियोजनाको क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना, किस्ता र ब्याज भुक्तानीमा सहजीकरण तथा व्यवसाय पुनःसञ्चालन र पुनर्निर्माणका लागि उपयुक्त सहयोग उपलब्ध गराउन सिबिफिनले आफ्ना सदस्य संस्थाका सञ्चालक समितिमार्फत समन्वय र सहजीकरण गर्ने जनाएको छ।

त्यसका साथै नेपाल सरकार र नेपाल राष्ट्र बैंकसँग समन्वय गरी प्रभावित क्षेत्र तथा ऋणीलाई आवश्यक राहत पुग्ने नीतिगत तथा कार्यगत उपाय अवलम्बन गर्नसमेत सिबिफिन प्रयासरत रहने बताएको छ।

राष्ट्रिय विपत्तिको सामना सामूहिक प्रयासबाट मात्र सम्भव हुने भन्दै सिबिफिनले उद्धार, राहत, पुनःस्थापना तथा आर्थिक पुनरुत्थानका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक र सम्बन्धित निकायसँग सहकार्य गर्न सम्पूर्ण बैंक तथा वित्तीय क्षेत्र तयार र प्रतिबद्ध रहेको जनाएको छ।

संघीय, प्रदेश तथा स्थानीय सरकारले अघि सारेका राहत तथा पुनःस्थापनाका प्रयासमा हातेमालो गर्दै प्रभावित परिवार, व्यवसाय तथा समुदायलाई यथाशीघ्र सामान्य अवस्थामा फर्काउन एकताबद्ध भएर परिचालित हुन सिबिफिनले सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ।

शुक्रबार, १२ भदौ २०८३, १३ : ५८

प्रतिक्रिया