काठमाडौं– नेपाल टेलिकमले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा अवरुद्ध मोबाइल तथा दूरसञ्चार सेवा पुनः सञ्चालनलाई तीव्रता दिएको छ। कम्पनीका अनुसार बाढी प्रभावित १२० साइटमध्ये हालसम्म ८० साइटमा सेवा पुनः सञ्चालन भइसकेको छ।
नेपाल टेलिकमले भदौ ११ गते हेलिकप्टरमार्फत कर्मचारी परिचालन गरी रसुवाको गोसाईंकुण्ड गाउँपालिका–६ स्थित जिल्ला सदरमुकाम धुन्चेमा मोबाइल स्टेशन सञ्चालनमा ल्याएको जनाएको छ।
त्यसैगरी भदौ १२ गते बिहानैदेखि टेलिकमका प्राविधिक टोली रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा सेवा सञ्चालन गर्न बाँकी रहेका स्थानमा खटिएका छन्। सञ्चालनमा आएका टावरलाई थप भरपर्दो बनाउनसमेत प्राविधिक टोलीले काम गरिरहेको कम्पनीले जनाएको छ।
रसुवामा बाढीका कारण बन्द भएको गोसाईंकुण्ड गाउँपालिका–५ स्थित गोल्जुङ टावर ९बाहुनडाँडा० पुनः सञ्चालनमा ल्याइएको छ। टावर सञ्चालनमा आएसँगै स्याफ्रुबेँसी, पार्वतीकुण्ड गाउँपालिका–४ र ५ तथा गोसाईंकुण्ड गाउँपालिका–३ र ५ लगायतका क्षेत्रमा मोबाइल सेवा सुचारु भएको छ। साथै स्याफ्रुबेँसी–टिमुरे राजमार्गका केही भागमा समेत सेवा उपलब्ध भएको टेलिकमले जनाएको छ।
_9x4MHhfCna.jpg)
नुवाकोटको सूर्यगढी गाउँपालिका–३ स्थित गेर्खु मोबाइल टावर पनि सञ्चालनमा आएको छ। उक्त टावर सञ्चालनमा आएसँगै विदुर नगरपालिका–१० र ११ तथा सूर्यगढी गाउँपालिका–४ का केही भागमा दूरसञ्चार सेवा पुनः सुचारु भएको छ।
विदुर नगरपालिका–८ स्थित तुप्चे टावर तथा गोसाईंकुण्ड गाउँपालिका–२, टिमुरेमाथिको डाँडामा रहेको टेलिकम टावरमा हेलिकप्टरमार्फत जेनेरेटर, पेट्रोल र प्राविधिक कर्मचारी पुर्याएर सेवा सञ्चालन गर्ने कार्य भइरहेको नेपाल टेलिकमले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा भदौ १० गतेदेखि नै टेलिकमका प्राविधिक कर्मचारी रसुवाको न्यौपानेचौर, राम्चे, गोल्जुङ र धुन्चे स्टेशनमा निरन्तर खटिएर सेवा सञ्चालनमा ल्याउने तथा थप व्यवस्थित बनाउने काममा सक्रिय छन्।
विपद्को समयमा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन सेवा निरन्तरता, पूर्वसूचना तथा सचेतना र आवश्यक प्राविधिक कार्यलाई उच्च प्राथमिकतामा राखिएको नेपाल टेलिकमले जनाएको छ। सेवा पुनः सञ्चालनले बाढी प्रभावित क्षेत्रका नागरिकलाई आफन्तजनसँग सम्पर्क कायम गर्न तथा आवश्यक सूचना आदानप्रदान गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ।
प्रतिक्रिया