महासंघको आपतकालीन राहतकोषमा कोषाध्यक्ष लकान्द्रीद्वारा ५१ हजार ५११ सहयोग

शुक्रबार, १२ भदौ २०८३, १७ : १६

काठमाडौं– नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका कोषाध्यक्ष गणेश लकान्द्रीले महासंघद्वारा स्थापित आपतकालीन राहतकोषमा रु ५१ हजार ५११ आर्थिक सहयोग गरेका छन् । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उनले उक्त रकम प्रदान गरेका हुन् ।

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । विपद् प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन विभिन्न संघसंस्था, व्यवसायी तथा व्यक्तिहरूले सहयोग अभियान सञ्चालन गरिरहेका छन् । सोही क्रममा महासंघले पनि आपतकालीन राहतकोष स्थापना गरी प्रभावित नागरिकको सहयोगमा जुटेको हो ।

महासंघका अनुसार राहतकोषमार्फत संकलित रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिनेछ । उक्त सहयोगले बाढी प्रभावित नागरिकको तत्काल उद्धार, राहत वितरण तथा पुनर्स्थापना कार्यमा केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास गरिएको छ ।

कोषाध्यक्ष लकान्द्रीले प्राकृतिक विपद्को यस कठिन समयमा प्रभावित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै बाढीमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित परिवारलाई आवश्यक सहयोग र सहकार्य निरन्तर रहने बताएका छन् ।

सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहेको बताउँदै लकान्द्रीले विपद् तथा संकटका समयमा राज्य र समुदायसँग हातेमालो गर्दै मानवीय सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले विपद्बाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सम्पूर्ण नागरिक, व्यवसायी तथा संघसंस्थालाई समेत आग्रह गरेका छन् । 

महासंघले पनि राहत तथा पुनर्स्थापनाका लागि आवश्यक सहयोग जुटाउन आफ्नोतर्फबाट पहल जारी राख्ने जनाएको छ । बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापनामा समेत सबै पक्षको सहकार्य आवश्यक रहेको महासंघको धारणा छ ।

शुक्रबार, १२ भदौ २०८३, १७ : १६

प्रतिक्रिया