बाढी प्रभावित थप सात स्थानमा नेपाल टेलिकमको मोबाइल सेवा सुचारु

आइतबार, १४ भदौ २०८३, १२ : ४९

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित थप सात स्थानमा मोबाइल सेवा सुचारु गरेको छ। यससँगै बाढीबाट प्रभावित भएका कुल १२० साइटमध्ये ९३ वटा साइट सञ्चालनमा आएका छन्।

नेपाल टेलिकमका अनुसार रसुवाको त्रिशूली–३ ए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत सेवा पुनः सञ्चालनमा आएको छ। उक्त टावर सञ्चालनमा आएसँगै जलविद्युत् आयोजनाको सुरुङमार्गमा भइरहेको उद्धार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क सहज भएको कम्पनीले जनाएको छ। सेवा सञ्चालनका लागि आवश्यक उपकरण तथा सामग्री सवारीसाधन र भरियामार्फत ढुवानी गरिएको थियो।

त्यस्तै, रसुवाकै उत्तरगया गाउँपालिका–स्थित कालिकास्थानको टावरबाट पनि मोबाइल सेवा सुचारु गरिएको छ। नुवाकोट जिल्लाका तुप्चे र बुङताङस्थित बीटीएस पनि आजदेखि सञ्चालनमा आएका छन्। ती टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धन हेलिकप्टरमार्फत ढुवानी गरिएको नेपाल टेलिकमले जनाएको छ।

यसैगरी कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावरसमेत पुनः सञ्चालनमा ल्याइएको छ। थप साइट सञ्चालनमा आएसँगै बाढी तथा पहिरोका कारण अवरुद्ध भएका क्षेत्रमा सञ्चार सम्पर्क विस्तारै सहज हुँदै गएको कम्पनीले जनाएको छ।

WhatsApp Image 2026-08-29 at 3.31.36 PM

यसबीच नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी ९अर्याल० ले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ। फिल्डमा खटिएका प्राविधिक कर्मचारीको मनोबल उच्च राख्दै सेवा पुनः सञ्चालनको कामलाई प्रभावकारी बनाउन उहाँ नुवाकोटलगायत प्रभावित क्षेत्रमा पुग्नुभएको हो।

यसअघि प्रबन्ध निर्देशक पहाडीले नेपाल टेलिकमको बबरमहलस्थित विपद् व्यवस्थापन कक्षमा आयोजित बैठकमा सहभागी भई प्रभावित क्षेत्रमा भइरहेको सेवा पुनः सञ्चालनको अवस्थाबारे जानकारी लिनुभएको थियो। उहाँले आवश्यक निर्देशनसमेत दिनुभएको थियो।

त्यसक्रममा अर्थमन्त्री, सूचना तथा सञ्चारमन्त्री, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष तथा सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रमा गरिरहेको सेवा पुनः सञ्चालनको प्रगति विवरणसमेत प्रस्तुत गरिएको थियो।

विपद्को यस अवस्थामा सञ्चार सेवा क्रमशः पुनः सञ्चालन हुँदै गएपछि प्रभावित क्षेत्रका नागरिकलाई आफन्तजनसँग सम्पर्क कायम गर्न तथा उद्धार र राहत कार्यमा समेत सहज हुने नेपाल टेलिकमले विश्वास व्यक्त गरेको छ।

आइतबार, १४ भदौ २०८३, १२ : ४९

प्रतिक्रिया