बाढीपहिरोका कारण नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा कन्ज्युमर इलेक्ट्रोनिक्स प्रदर्शनी स्थगित

आइतबार, १४ भदौ २०८३, १५ : ४५

काठमाडौं- आगामी भदौ १९ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने तय भएको ‘नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी’ हालका लागि स्थगित गरिएको छ ।

मिडिया स्पेस सोलुसन्स प्रालि।, एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि। तथा फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट प्रालिको संयुक्त आयोजनामा प्रदर्शनी आयोजना गर्ने तयारी गरिएको थियो ।

तर, पछिल्लो समय नेपालमा आएको विनाशकारी बाढीपहिरोका कारण देश कठिन परिस्थितिबाट गुज्रिरहेको अवस्थामा व्यापारिक प्रदर्शनी सञ्चालन गर्नु मानवीय दृष्टिले उचित नदेखिएकाले हाललाई स्थगित गरिएको आयोजकले जनाएको छ ।

प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति हुनुका साथै नागरिकहरूले अपार कष्ट भोगिरहेका बेला देश राष्ट्रिय शोक तथा पुनर्निर्माणको संवेदनशील अवस्थामा रहेको आयोजकको भनाइ छ । साथै, नेपाल सरकारद्वारा जारी सुरक्षा सचेतना तथा भारत र चीन सरकारले आफ्ना नागरिकका लागि जारी गरेको यात्रा सचेतनालाई समेत ध्यानमा राखेर प्रदर्शनी स्थगित गर्ने निर्णय गरिएको हो ।

प्रदर्शनीमा सहभागी हुने प्रदर्शक, आगन्तुक तथा अन्य सरोकारवालाको सुरक्षा र यात्राको सहजतालाई पहिलो प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ ।

अवस्था सामान्य भई यातायात तथा आवश्यक पूर्वाधारहरू सुचारु भएपछि प्रदर्शनीको नयाँ मिति सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ । प्राकृतिक विपत्तिका कारण प्रदर्शनी स्थगित गर्नुपर्दा पर्न गएको असुविधाप्रति आयोजकले क्षमा माग्दै सहभागी, प्रदर्शक तथा सम्पूर्ण सरोकारवालाको सद्भाव र सहयोगका लागि आभार व्यक्त गरेको छ।

आइतबार, १४ भदौ २०८३, १५ : ४५

प्रतिक्रिया