काठमाडौं– नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका तृतीय उपाध्यक्ष एवं चितवन सुनचाँदी व्यवसायी संघ, पूर्वी चितवनका संस्थापक अध्यक्ष प्रेम खातीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी ६० हजार रुपैयाँ सहयोग गरेका छन्।
खातीले नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र लायन्स क्लबमार्फत कोषमा रकम दाखिला गर्ने गरी उक्त सहयोग हस्तान्तरण गरेका हुन्। प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उनले आर्थिक सहयोग प्रदान गरेका हुन्।
व्यवसायसँगै सामाजिक तथा मानवीय सेवामा सक्रिय खाती लायन्स क्लब ३२५ आरका रिजन चियरपर्सनसमेत हुन्। विभिन्न सामाजिक गतिविधिमा संलग्न रहँदै आएका उनले विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिनु सबैको सामाजिक दायित्व भएको बताए।
खाती खैरहनी–८, पर्सास्थित सूर्य किरण सुनचाँदी पसलका सञ्चालकसमेत हुन्। सुनचाँदी व्यवसायमा सक्रिय रहँदै सामाजिक सेवामार्फत समुदायमा योगदान पुर्याउँदै आएका उनले विपद्का बेला आफ्नो तर्फबाट सक्दो सहयोग गरेका हुन्।
उनले गरेको सहयोगले विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा केही भए पनि योगदान पुग्ने विश्वास गरिएको छ।
प्रतिक्रिया