नेपाल–चीन सिमाना सम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालन

सोमबार, १५ भदौ २०८३, १२ : २७

काठमाडौं- नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप ७ स्थानमा आज मिति २०८३/०५/१४ मा सेवा सुचारु गरेको छ । यससँगै बाढी प्रभावित क्षेत्रका अधिकांश मोबाइल बीटीएस साइटहरु सञ्चालनमा आएका छन् । 

आज सञ्चालनमा आएका साइटहरुमा रसुवा जिल्ला अन्तर्गत नेपाल–चीन सिमानामा रहेको रसुवा बोर्डर साइट लगायत अपर सेन्जेन, छापथोके, जिपजिपे र गत्लाङ साइटहरु रहेका छन् । त्यसैगरी नुवाकोटको चारघरे तथा चारघरे मुलाबारी बीटीएस साइट रहेका छन् ।                          

रसुवा बोर्डर बीटीएस साइटमार्फत नेपाल–चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर र स्याफ्रुबेसीदेखि भोटेकोशी करिडोरसम्म सेवा पुनः सञ्चालनमा आएका छन् ।

अपर सेन्जेन साइटबाट चिलिमे, लामागाउँ, आमाछोङदिमो गाउँपालिका वडा नम्बर ५ लगायतका स्थानमा मोबाइल सेवा उपलब्ध हुनेछ । 

छापथोके साइटबाट मोबाइल सेवा प्राप्त हुने स्थानहरु बेत्रावती, काउली, त्रिशुली थ्रीबी, उत्तरगया गाउँपालिका र किस्पाङ रहेका छन् । 

जिपजिपे साइटबाट सेवा प्राप्त हुने स्थानहरु कालिका गाउँपालिकाका वडा नम्बर २ र ५, धारापानी र देउरालीडाँडा रहेका छन् ।

त्यसैगरी गत्लाङ बीटीएस साइटमार्फत गत्लाङ, गोल्जुङ, चिलिमे, ठुलो भार्खु, शेर्पा गाउँ, ठुलो स्याफ्रु, स्याफ्रुबेसी, खाङजुम र बरिम रहेका छन् । 

चारघरे तथा चारघरे मुलाबारी बीटीएस साइटबाट बिदुर नगरपालिकाको वडा नम्बर १२ र १३ मा मोबाइल सेवा सुचारु भएको छ । 

विपद्को यस अवस्थामा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन नेपाल टेलिकमका प्राविधिकहरु निरन्तर खटिइरहनु भएको छ र कम्पनी सदाझै सेवा सुनिश्चितताको लागि प्रतिवद्ध रहेको छ ।    

सोमबार, १५ भदौ २०८३, १२ : २७

प्रतिक्रिया