काठमाडौं- शिवम् सिमेन्ट लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा २०८३ भदौ १४ गते काठमाडौंमा सम्पन्न सभाले कम्पनीका विभिन्न प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
सभाले हाल कायम शेयरधनीलाई ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । साथै आगामी चार वर्षे कार्यकालका लागि सञ्चालकहरूको निर्वाचन गर्दै शिवरतन शारडाको अध्यक्षतामा सञ्चालक समिति गठन गरेको छ ।
नवनिर्वाचित सञ्चालक समितिमा सुशिल गुप्ता र नन्दिनी मारु सञ्चालक सदस्य रहेका छन् भने चार्टर्ड एकाउन्टेन्ट प्रदीप राज उपाध्यायलाई स्वतन्त्र सञ्चालक नियुक्त गरिएको छ । सभाले कम्पनी सञ्चालक समितिलाई आवश्यक अख्तियारीसमेत प्रदान गरेको छ ।
त्यसैगरी सभाले आर्थिक वर्ष २०८२र८३ को वित्तीय विवरण पारित गरेको छ । आर्थिक वर्ष २०८३र८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गरेको छ ।
कम्पनीले सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने प्रक्रियालाई समेत अघि बढाउने निर्णय गरेको छ । कम्पनीको जारी पुँजी ५ अर्ब ८० करोड रुपैयाँको २० प्रतिशत अर्थात् १ करोड १६ लाख कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्ने प्रस्ताव यसअघि नै नेपाल धितोपत्र बोर्डमा पेश गरिएको थियो ।
सभाले उक्त सार्वजनिक निष्कासनका लागि बोर्डमा पेश गरिएको विवरणपत्रमा आवश्यक संशोधन, परिमार्जन तथा अद्यावधिक गरी सम्बन्धित कागजातसहित नेपाल धितोपत्र बोर्डमा पुनः पेश गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
सभाले कम्पनीको वार्षिक प्रगति प्रतिवेदनसहित सञ्चालक समितिबाट प्रस्तुत गरिएका सबै प्रस्ताव सर्वसम्मतिले पारित गरेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया