रसुवा बाढी

रसुवा बाढीले बैंकिङ क्षेत्र पनि मारमा, १२ बैंकका १६ शाखामा क्षति

मंगलबार, १६ भदौ २०८३, १० : ३९

काठमाडौं- रसुवा जिल्लामा हालै गएको विनाशकारी बाढीका कारण बैंक तथा वित्तीय संस्थाको पूर्वाधार, सेवा प्रवाह र कर्जा–निक्षेप कारोबारमा परेको असरबारे नेपाल राष्ट्र बैंकले प्रभावित बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ।

राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल तथा डेपुटी गभर्नरहरू किरण पण्डित र दीर्घबहादुर रावलले सोमबार प्रभावित बैंकका नेतृत्वसँग प्रत्यक्ष संवाद गर्दै शाखाको अवस्था, कर्मचारीको सुरक्षा तथा बैंकिङ सेवा सञ्चालनको वर्तमान अवस्थाबारे जानकारी लिएका हुन्।

नेपाल बैंकर्स संघका अध्यक्ष एवं माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको नेतृत्वमा सहभागी बैंक प्रतिनिधिहरूले बाढीबाट बैंकिङ क्षेत्रमा भएको क्षतिको विवरण प्रस्तुत गरेका थिए। छलफलमा प्रभावित १२ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सहभागी थिए।

बाढीका कारण केरुङ, टिमुरे, स्याफ्रुबेंसी, वेत्रावती, मैलुङ, देविघाट र त्रिशूली क्षेत्रमा सञ्चालित बैंकका १६ वटा शाखा कार्यालयमा प्रत्यक्ष क्षति पुगेको छ। कतिपय शाखाका भवन तथा बैंकिङ सामग्रीसमेत बाढीले बगाएपछि नियमित सेवा प्रवाहमा समस्या उत्पन्न भएको बैंकहरूले बताएका छन्।

छलफलका क्रममा बैंकहरूले कर्मचारीको सुरक्षा अवस्था, उद्धार तथा राहत गतिविधिबारे राष्ट्र बैंकलाई जानकारी गराउँदै प्रभावित क्षेत्रमा बैंकिङ सेवा पुनःसुचारु गर्न अपनाउनुपर्ने वैकल्पिक उपायबारे छलफल गरेका थिए।

प्रारम्भिक विवरणअनुसार प्रभावित क्षेत्रमा ती बैंकहरूको सर्वसाधारणतर्फ करिब २ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी र झन्डै ४ अर्ब रुपैयाँ निक्षेप रहेको छ। त्यस्तै, जलविद्युत् आयोजनामा बैंकिङ क्षेत्रको लगानी करिब ७ अर्ब रुपैयाँ पुगेको छ। बैंकका भल्टमा रहेको करिब १५ करोड रुपैयाँसमेत बाढीबाट प्रभावित भएको प्रारम्भिक विवरण छ।

बाढीका कारण निक्षेप व्यवस्थापन, कर्जा असुली तथा नयाँ लगानीमा पर्न सक्ने असरबारे समेत राष्ट्र बैंक र बैंकर्सबीच गम्भीर छलफल भएको छ।

प्रभावित क्षेत्रमा बैंकिङ सेवा निरन्तरता दिन वैकल्पिक व्यवस्था मिलाउने, ग्राहकलाई सहज रूपमा सेवा उपलब्ध गराउने तथा क्षतिग्रस्त शाखा पुनः सञ्चालनमा ल्याउन आवश्यक नियामकीय सहजीकरण गर्ने राष्ट्र बैंकले जनाएको छ।

छलफलमा कृषि विकास बैंकका गोविन्द गुरुङ, सिटिजन्स बैंकका गणेशराज पोखरेल, ग्लोबल आइएमई बैंकका सुरेन्द्र रेग्मी, हिमालयन बैंकका अशोक राणा, लक्ष्मी सनराइज बैंकका अजयविक्रम राणा, माछापुच्छ्रे बैंकका सन्तोष कोइराला, नबिल बैंकका मनोज ज्ञवाली, एनआईसी एशिया बैंकका सुजित शाक्य, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ज्योतिप्रकाश पाण्डे, एनएमबी बैंकका गोविन्द घिमिरे, प्रभु बैंकका सुमन शर्मा र सानिमा बैंकका पवन आचार्य सहभागी थिए।

मंगलबार, १६ भदौ २०८३, १० : ३९

प्रतिक्रिया