काठमाडौं– नेपाल टेलिकमले बाढीका कारण प्रभावित भएका थप चार स्थानका मोबाइल साइट सुचारु गरेको छ। टेलिकमले आज २०८३ भदौ १५ गते रसुवाको जिबजिबे र सरमथली, धादिङको बेनीघाट तथा नुवाकोटको त्रिशूली बजारस्थित साइट सञ्चालनमा ल्याएको हो।
यससँगै बाढीका कारण प्रभावित भएका नेपाल टेलिकमका कुल १२० साइटमध्ये ११० साइट सुचारु भएका छन्। टेलिकमले प्रभावित क्षेत्रमा सञ्चार सेवा पुनःस्थापनालाई प्राथमिकतामा राख्दै विभिन्न स्थानमा प्राविधिक टोली परिचालन गरी सेवा सञ्चालनमा ल्याइरहेको जनाएको छ।
जिबजिबे टावर सञ्चालनमा आएपछि भोर्ले, चिती, गाइसौरा, भोर्लेलगायत नौकुण्ड गाउँपालिकाका वडा नम्बर ५ र ६ का विभिन्न स्थानमा सञ्चार सेवा सहज हुने भएको छ।
त्यस्तै, सरमथली टावरबाट यार्सा, लच्याङ, सिमबन्दी, बिजिली जोङलगायत आसपासका क्षेत्रमा रहेका सेवाग्राही लाभान्वित हुने टेलिकमले जनाएको छ।
धादिङको बेनीघाट साइट सञ्चालनमा आएपछि बेनीघाट बजार तथा आसपासका क्षेत्रमा मोबाइल सेवा सहज हुनेछ। नुवाकोटको त्रिशूली साइट सुचारु भएसँगै त्रिशूली बजार, ढुंगे तथा आसपासका क्षेत्रमा सञ्चार सेवा थप सहज हुने भएको छ।
बाढी तथा पहिरोका कारण भौतिक संरचनामा क्षति पुग्दा प्रभावित भएका साइटहरू क्रमशः सञ्चालनमा ल्याइँदै आएको टेलिकमले जनाएको छ। बाँकी प्रभावित साइटहरू पनि आवश्यक प्राविधिक तथा भौतिक व्यवस्थापनपछि क्रमशः सुचारु गर्ने तयारी भइरहेको छ।
प्रतिक्रिया