अपडेट

भोटेकोशी बाढी : १२ जलविद्युत् आयोजना प्रभावित, ९३६ जना अझै सम्पर्कविहीन

शनिबार, २० भदौ २०८३, १३ : ०२

काठमाडौं– भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट १२ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। बाढीबाट सञ्चालनमा रहेका ८ र निर्माणाधीन ४ गरी कुल ६६९ मेगावाट क्षमताका आयोजना प्रभावित भएको विवरणमा उल्लेख छ।

बाढीबाट प्रभावित आयोजनामध्ये ११ आयोजनामा कार्यरत ९३६ जना सम्पर्कविहीन रहेको विवरणले देखाएको छ। बाढीले कतिपय आयोजनाका विद्युत्गृह, निर्माण संरचना तथा सुरुङ क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि खोज तथा उद्धार कार्य अझै जारी छ।

रसुवामा मात्रै माथिल्लो त्रिशूली–१, रसुवागढी, रसुवा–भोटेकोशी, लाङटाङ खोला, चिलिमे र मैलुङ खोला जलविद्युत् आयोजना प्रभावित भएका छन्। त्यसमध्ये माथिल्लो त्रिशूली–१ सबैभन्दा ठूलो मानवीय क्षति भएको आयोजना हो। २१६ मेगावाट क्षमताको निर्माणाधीन आयोजनामा बाढी आउनुअघि १ हजार ४३३ जना कार्यरत थिए। तीमध्ये ८७६ जनाको उद्धार भए पनि ठूलो संख्यामा कामदार सम्पर्कविहीन छन्।

आयोजनाको वर्कसप तथा मुख्य सुरुङ क्षेत्रमा फसेका हुनसक्ने ११५ जनाको खोजीलाई विशेष प्राथमिकता दिइएको छ। खोज तथा उद्धारका लागि विभिन्न मेसिन तथा उपकरण आयोजनास्थलमा पुर्‍याइएको छ भने सुरुङभित्र पानी पम्प गर्ने कामसमेत भइरहेको छ।

त्यस्तै १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा ९३ जना सम्पर्कविहीन छन्। विद्युत्गृहमा केही व्यक्ति फसेको आशंका गरिए पनि उनीहरूको वास्तविक अवस्था यकिन हुन सकेको छैन। निरन्तर बढिरहेको नदीको पानीको सतह र खराब मौसमका कारण उद्धारका लागि आवश्यक ठूला मेसिन तथा उपकरण आयोजनास्थलसम्म पुर्‍याउन कठिनाइ भइरहेको छ।

१२० मेगावाट क्षमताको निर्माणाधीन रसुवा–भोटेकोशी आयोजनाबाट भने चार जना सुरक्षित स्थानमा पुगेका छन्। उनीहरूमध्ये तीन चिनियाँ र दुई नेपाली गरी पाँच जनालाई हेलिकप्टरबाट उद्धार गरिएको विवरणमा उल्लेख छ।

२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा ४१ जना सम्पर्कविहीन भएकोमा दुई जनाको शव फेला परेको छ। यस आयोजनाबाट १९ जनाको उद्धार भइसकेको छ भने ३९ जनाको अवस्था अझै अज्ञात रहेको विवरणमा उल्लेख छ।

२२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनामा पनि विद्युत्गृहभित्र केही व्यक्ति फसेको आशंका गरिएको छ। कठिन भूगोल र सुरुङमा पुग्न देखिएको समस्याका कारण खोज तथा उद्धारमा चुनौती देखिएको छ। यस्तै ५ मेगावाटको मैलुङ खोला आयोजनामा विद्युत्गृहमा कार्यरत सात जना लामो समयसम्म सम्पर्कमा आउन नसकेको उल्लेख छ।

बाढीबाट रसुवा मात्रै नभई नुवाकोट क्षेत्रमा समेत जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ। २४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्र, १४।१ मेगावाटको देवीघाट जलविद्युत् केन्द्र, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’, ३७ मेगावाटको निर्माणाधीन माथिल्लो त्रिशूली–३ ‘बी’, १५।६ मेगावाटको मिडिल त्रिशूली गंगा र २५ मेगावाटको नुवाकोट सौर्य विद्युत् आयोजनासमेत प्रभावित भएका छन्।

माथिल्लो त्रिशूली–३ ‘बी’मा मात्रै १९१ जना सम्पर्कविहीन रहेको विवरण छ। फेवा कन्स्ट्रक्सनका १४१, प्रवर्द्धक कम्पनीका २१, कर्मचारीका परिवारका ७, चिलिमे इन्जिनियरिङका १२, एक सुरक्षा गार्ड र काठमाडौं विश्वविद्यालयबाट इन्टर्नसिपमा गएका तीन जना विद्यार्थी सम्पर्कविहीन छन्। सुरुङभित्र काम गरिरहेका २३ जना भने सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए।

६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’को भूमिगत विद्युत्गृहमा फसेका दुई जनाको भने बाढी आएको १० दिनपछि शुक्रबार सकुशल उद्धार गरिएको छ। उद्धार गरिएका सञ्जय साह र कबिर महर्जनलाई उपचारका लागि काठमाडौंस्थित छाउनी अस्पताल लगिएको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। आयोजनामा अझै अन्य व्यक्तिको खोजी तथा उद्धार जारी छ।

शनिबार, २० भदौ २०८३, १३ : ०२

प्रतिक्रिया