बैंकिङ क्षेत्र

बैंकिङ क्षेत्रमा निक्षेप खाता ६ करोड ३४ लाख नाघ्यो, कर्जा खाता २० लाखभन्दा बढी

आइतबार, २१ भदौ २०८३, १० : ५५

काठमाडौं– नेपालमा बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप खाता संख्या ६ करोड ३४ लाख नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा बैंकिङ क्षेत्रमा कुल ६ करोड ३४ लाख २५ हजार २९६ वटा निक्षेप खाता सञ्चालनमा रहेका छन्।

यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४९ लाख ९६ हजार ९२९ अर्थात् ८।५५ प्रतिशतले बढी हो। अघिल्लो आवमा बैंकिङ क्षेत्रमा कुल ५ करोड ९४ लाख २९ हजार ३६७ वटा निक्षेप खाता सञ्चालनमा रहेका थिए।

राष्ट्र बैंकका अनुसार आव २०८२र८३ मा वाणिज्य बैंकहरूमा मात्रै ५ करोड ४४ लाख ४९ हजार ५३९ वटा निक्षेप खाता सञ्चालनमा छन्। त्यस्तै विकास बैंकहरूमा ७८ लाख ८३ हजार ६७२ र फाइनान्स कम्पनीहरूमा १० लाख ९२ हजार ८५ वटा निक्षेप खाता रहेका छन्।

अघिल्लो आवमा वाणिज्य बैंकहरूमा ५ करोड ९ लाख ८६ हजार १७१, विकास बैंकहरूमा ७४ लाख ५३ हजार ३४७ र फाइनान्स कम्पनीहरूमा ९ लाख ६७ हजार ८४९ वटा निक्षेप खाता सञ्चालनमा रहेका थिए।

यस्तै, बैंकिङ क्षेत्रमा सञ्चालनमा रहेका कुल कर्जा खाताको संख्या पनि बढेको छ। आव २०८२/८३ मा कुल २० लाख ३१ हजार ६३४ वटा कर्जा खाता सञ्चालनमा रहेका छन्। अघिल्लो आवमा यस्तो संख्या १९ लाख ५५ हजार ५५८ रहेको थियो।

आव २०८२र८३ मा वाणिज्य बैंकहरूमा १७ लाख ९३४, विकास बैंकहरूमा २ लाख ६१ हजार ४४७ र फाइनान्स कम्पनीहरूमा ६८ हजार ९८३ वटा कर्जा खाता सञ्चालनमा रहेका छन्। अघिल्लो आवमा वाणिज्य बैंकमा १६ लाख ४४ हजार ५४५, विकास बैंकमा २ लाख ७१ हजार २७ र फाइनान्स कम्पनीमा ५० हजार ९८५ वटा कर्जा खाता थिए।

यसैबीच, नेपाल राष्ट्र बैंकले प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा बैंक तथा वित्तीय संस्थाका शाखा तथा कार्यालय स्थानान्तरण गर्न सहज हुने व्यवस्था गरेको छ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी तथा लघुवित्त वित्तीय संस्थाका नाममा परिपत्र जारी गर्दै एकीकृत निर्देशन, २०८२ मा संशोधन, परिमार्जन तथा थप गरी यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

संशोधित व्यवस्थाअनुसार २०८३ भदौमा आएको प्राकृतिक विपद्का कारण रसुवालगायत प्रभावित क्षेत्रमा क्षति पुगेका वा सञ्चालन गर्न असहज भएका बैंक तथा वित्तीय संस्थाका शाखा तथा कार्यालयलाई बैंकिङ सेवा यथाशीघ्र सुचारु गर्ने उद्देश्यले विशेष सुविधा दिइएको छ।

अब त्यस्ता प्रभावित शाखा वा कार्यालयलाई नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृति नलिई सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफैँ स्थानान्तरण गर्न वा नजिकैको अर्को शाखामा समायोजन गर्न सक्नेछन्। यसरी शाखा स्थानान्तरण वा समायोजन गरेपछि भने सम्बन्धित संस्थाले सात दिनभित्र राष्ट्र बैंकलाई जानकारी गराउनुपर्नेछ।

राष्ट्र बैंकले प्राकृतिक विपद्का कारण बैंकिङ कारोबारका लागि आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकलाई बैंकिङ सेवा लिन सहज वातावरण बनाउन पनि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

बाढी, पहिरोलगायत प्राकृतिक विपद्बाट प्रभावित जिल्लाका ग्राहकले बैंकिङ कारोबारका लागि आवश्यक कागजात गुमाएको हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै राष्ट्र बैंकले आवश्यक सहयोग तथा सहजीकरण गर्न निर्देशन दिएको हो।

राष्ट्र बैंकका अनुसार विपद्का कारण आवश्यक कागजात गुमाएका ग्राहकको हस्ताक्षर नमुना, फोटो तथा अन्य विवरणका आधारमा ग्राहकको पहिचान यकिन गरी बैंकिङ कारोबारमा आवश्यक सहजीकरण गर्नुपर्नेछ। यसले विपद्का कारण कागजातविहीन भएका ग्राहकलाई बैंकिङ सेवा पुनःप्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।

आइतबार, २१ भदौ २०८३, १० : ५५

प्रतिक्रिया