काठमाडौं– मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता गरेको छ।
तीनवटै वित्तीय संस्थाबीच प्रस्तावित प्राप्तिका लागि प्रारम्भिक सम्झौता पत्र (एमओयू) मा हस्ताक्षर भएको हो। सम्झौतामा तीनवटै संस्थाका तर्फबाट सम्बन्धित प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।
वित्तीय क्षेत्रलाई थप सुदृढ बनाउने, संस्थागत क्षमता अभिवृद्धि गर्ने, व्यवसाय विस्तार गर्ने तथा ग्राहकलाई थप प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले प्रस्तावित प्राप्ति प्रक्रिया अघि बढाइएको सम्बन्धित संस्थाहरूले जनाएका छन्।
सम्झौताअनुसार प्रस्तावित प्राप्तिका लागि आवश्यक विस्तृत अध्ययन तथा मूल्याङ्कन, सम्पत्ति र दायित्वको यथार्थ परीक्षण (ड्यु डिलिजेन्स), शेयर आदान–प्रदानसम्बन्धी व्यवस्था तथा अन्य आवश्यक प्रक्रिया अघि बढाइनेछ।
प्रस्तावित प्राप्ति प्रक्रिया नेपाल राष्ट्र बैंक तथा प्रचलित कानुनबमोजिम आवश्यक स्वीकृति र नियामकीय प्रक्रिया पूरा भएपछि मात्रै अन्तिम रूपमा कार्यान्वयनमा आउनेछ।
तीनवटै संस्थाले प्रस्तावित प्रक्रियालाई पारदर्शी र व्यवस्थित रूपमा अघि बढाउँदै प्रचलित कानुनी तथा नियामकीय व्यवस्थाको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, प्राप्ति प्रक्रियामा सम्बन्धित सबै सरोकारवालाको हितलाई प्राथमिकतामा राखिने जनाइएको छ।
प्रतिक्रिया