कुमारी बैंक पीसीएएफमा आबद्ध, अब ऋण लगानीको कार्बन उत्सर्जन मापन गर्ने

सोमबार, २२ भदौ २०८३, १६ : ४३

काठमाडौं– कुमारी बैंक लिमिटेड पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल (पीसीएएफ) मा आबद्ध भएको छ। पीसीएएफको सदस्य बनेसँगै बैंकले आफ्ना वित्तीय गतिविधिबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा व्यवस्थापनमा थप पारदर्शिता अपनाउने प्रतिबद्धता जनाएको छ।

पीसीएएफमा आबद्ध भएपछि बैंकले आफ्ना ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन र सार्वजनिक खुलासाका लागि पीसीएएफले विश्वव्यापी रूपमा मान्यता दिएको मापदण्ड तथा विधि प्रयोग गर्ने जनाएको छ।

बैंकका अनुसार यस पहलले जलवायुसम्बन्धी तथ्यांक संकलन, जोखिम व्यवस्थापन तथा दिगो वित्तसम्बन्धी अभ्यासलाई थप सुदृढ बनाउन सहयोग पुग्नेछ। न्यून–कार्बन तथा जलवायु उत्थानशील अर्थतन्त्रतर्फको संक्रमणमा वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका रहने भएकाले बैंकले आफ्ना लगानी गतिविधिको जलवायु प्रभाव बुझ्ने क्षमता अभिवृद्धि गर्ने जनाएको छ।

पीसीएएफबाट प्राप्त तथ्यांकलाई भविष्यका वित्तीय निर्णय, जोखिम व्यवस्थापन तथा दिगोपनासम्बन्धी रणनीति निर्माणमा उपयोग गर्ने बैंकको योजना छ। बैंकले दिगो वित्तका अवसर विस्तार गर्दै आफ्ना सञ्चालन तथा वित्तीय गतिविधिमा वातावरणीय र जलवायुसम्बन्धी पक्षलाई थप एकीकृत गर्ने जनाएको छ।

सन् २०१९ को सेप्टेम्बरमा स्थापना भएको पीसीएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी सहकार्य हो। यसले ऋण तथा लगानीमार्फत हुने हरितगृह ग्यास उत्सर्जनको एकरूप मूल्यांकन तथा खुलासाका लागि वित्तीय संस्थालाई साझा ढाँचा उपलब्ध गराउँदै आएको छ। हाल ७०० भन्दा बढी वित्तीय संस्था पीसीएएफ पहलमा आबद्ध भइसकेका छन्।

कुमारी बैंकका सस्टेनेबल बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले पीसीएएफमा आबद्ध हुनु बैंकको दिगोपन यात्राको महत्वपूर्ण कोसेढुंगा भएको बताएका छन्। यसबाट वित्तीय गतिविधिसँग सम्बन्धित उत्सर्जन बुझ्न, जलवायु रणनीति सुदृढ गर्न, पारदर्शिता बढाउन तथा उत्थानशील र दिगो अर्थतन्त्रतर्फ अघि बढ्न सहयोग पुग्ने उनको भनाइ छ।

बैंकले ग्राहककेन्द्रित नवप्रवर्तन, जिम्मेवार बैंकिङ तथा दिगो वित्तलाई प्राथमिकता दिँदै नेपालको दीर्घकालीन आर्थिक रूपान्तरणमा आफ्नो भूमिका थप सुदृढ गर्दै आएको जनाएको छ। साथै, नेपालको दीर्घकालीन जलवायु तथा विकास प्राथमिकतामा योगदान पुर्‍याउन सरोकारवालासँगको सहकार्यलाई निरन्तरता दिने बैंकले जनाएको छ।

सोमबार, २२ भदौ २०८३, १६ : ४३

प्रतिक्रिया