भोटेकोशी बाढी

जलविद्युत् क्षेत्रमा बाढीको विनाश : ६६९ मेगावाट उत्पादन प्रभावित, ९१७ जना अझै सम्पर्कविहीन

बुधबार, २४ भदौ २०८३, ०९ : ५९

काठमाडौं– भोटेकोशीको भीषण बाढीबाट १२ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। बाढीबाट ११ वटा आयोजनामा प्रत्यक्ष क्षति पुगेको र ती आयोजनासँग सम्बन्धित ९१७ जना अझै सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ।

प्रतिवेदनअनुसार बाढीबाट प्रभावित जलविद्युत् आयोजनामध्ये ८ वटा आयोजना सञ्चालनमा रहेका थिए, जसको कुल क्षमता २८१ मेगावाट छ। त्यस्तै निर्माणाधीन चार आयोजनाको कुल क्षमता ३८८ मेगावाट रहेको छ। यसरी बाढीबाट प्रभावित आयोजनाको कुल क्षमता ६६९ मेगावाट पुगेको छ।

रसुवामा बाढीबाट पूर्णरूपमा क्षतिग्रस्त आयोजनामध्ये माथिल्लो त्रिशूली–१ सबैभन्दा ठूलो आयोजना हो। २१६ मेगावाट क्षमताको निर्माणाधीन उक्त आयोजनामा बाढी आउनुअघि १ हजार ४३३ जना कार्यरत थिए। तीमध्ये ८७८ जनाको उद्धार गर्न सकिएको प्रतिवेदनमा उल्लेख छ। आयोजनामा बेपत्ता भएकामध्ये विदेशी नागरिकसमेत रहेको उल्लेख छ।

माथिल्लो त्रिशूली–१ आयोजनामा अझै खोजी तथा उद्धार कार्य जारी छ। आयोजनाको सुरुङ तथा हेडवर्क्स क्षेत्रमा हराइरहेका व्यक्तिको खोजीका लागि नेपाली सेना, नेपाल ड्रोन एसोसिएसन तथा अन्य टोली परिचालन भएका छन्। खोजीका क्रममा एक शव फेला परेको र अर्को शवसमेत प्राप्त भएको विवरण प्रतिवेदनमा उल्लेख छ।

बाढीबाट १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना पनि प्रभावित भएको छ। आयोजना सञ्चालनमा रहेको थियो। त्यस्तै १२० मेगावाट क्षमताको निर्माणाधीन रसुवा–भोटेकोशी जलविद्युत् आयोजना पनि पूर्णरूपमा प्रभावित भएको छ। उक्त आयोजनामा कार्यरत तीन जना सम्पर्कविहीन रहेको तथा केही शव प्राप्त भएको विवरण छ।

त्यसैगरी २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ३९ जना सम्पर्कविहीन छन् भने १९ जनाको उद्धार भइसकेको छ। आयोजनाको सुरुङबाट दुई जनाको शव निकालिएको प्रतिवेदनमा उल्लेख छ।

२२ मेगावाट क्षमताको तितलमे जलविद्युत् आयोजनाको विद्युत्गृहमा बाढीका कारण केही व्यक्ति फसेको आशंका गरिएको छ। बाढीपछि विद्युत्गृहसम्म पुग्ने पहुँचमार्ग र सुरुङमा माटो तथा लेदो भरिएका कारण उद्धारमा कठिनाइ भइरहेको छ। नेपाली सेना तथा भारतीय सेनासहितको उद्धार टोली खोजी तथा उद्धार कार्यमा परिचालित रहेको प्रतिवेदनमा उल्लेख छ। विद्युत्गृहमा ६ जनासम्म फसेको हुनसक्ने अनुमान गरिएको छ।

बाढीबाट पूर्णरूपमा प्रभावित आयोजनाको सूचीमा नेपाल विद्युत् प्राधिकरणका आयोजनासमेत छन्। २४ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्रमा तीन जना सम्पर्कविहीन भएको र ७० जना सकुशल रहेको विवरण छ। १४.१ मेगावाट क्षमताको देवीघाट जलविद्युत् केन्द्रमा एक जना सुरक्षा गार्ड सम्पर्कविहीन रहेको उल्लेख छ।

त्यस्तै ६० मेगावाटको माथिल्लो त्रिशूली–३ए आयोजनामा ३९ जनाको खोजी कार्य जारी रहेको छ। ३७ मेगावाटको माथिल्लो त्रिशूली–३बी निर्माणाधीन आयोजनामा १७८ जना अझै सम्पर्कविहीन छन्। आयोजनाको आवास तथा कार्यालय भवन रहेको क्षेत्रमा बाढीपछि उत्खनन गरी खोजी कार्य जारी राखिए पनि तत्कालसम्म कुनै अवशेष फेला नपरेको प्रतिवेदनमा उल्लेख छ।

१५.६ मेगावाट क्षमताको मिदिल त्रिशूली गंगा जलविद्युत् आयोजनामा दुई जना सम्पर्कविहीन रहेको विवरण छ। त्यस्तै २५ मेगावाट क्षमताको नुवाकोट सौर्य विद्युत् आयोजनामा पनि बाढीबाट प्रभाव परेको उल्लेख छ।

बाढीले जलविद्युत् आयोजनाका संरचना मात्रै नभई पहुँचमार्ग, सुरुङ, आवास तथा कार्यालय भवनलगायतका संरचनामा समेत क्षति पुर्‍याएको छ। कतिपय आयोजनामा भारी उपकरण पुर्‍याउन नसक्दा उद्धार तथा क्षतिको मूल्यांकनमा समेत कठिनाइ भइरहेको छ।

माथिल्लो त्रिशूली–१ मा खोजी कार्यका लागि हेलिकप्टरबाट मेसिन तथा एक्साभेटर लैजाने प्रयास भए पनि भौगोलिक अवस्था तथा सीमित स्थानका कारण उपकरण अवतरण गराउन कठिनाइ भइरहेको प्रतिवेदनमा उल्लेख छ। उपलब्ध सीमित स्रोत–साधनका आधारमा खोजी कार्यलाई निरन्तरता दिइएको छ।

बाढीबाट प्रभावित जलविद्युत् आयोजनामा कार्यरत तथा सम्पर्कविहीन व्यक्तिको खोजी र उद्धारसँगै आयोजनाको पुनर्निर्माण तथा पुनःस्थापनाको कामसमेत चुनौतीपूर्ण बनेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले समेत प्रभावित आयोजनाको उद्धार, पुनर्निर्माण र पुनःस्थापनाका कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रतिवेदनमा उल्लेख छ।

बुधबार, २४ भदौ २०८३, ०९ : ५९

प्रतिक्रिया