काठमाडौं- तिब्बत क्षेत्रमा हिमताल फुटेर भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखालगायत जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चले दुःख व्यक्त गर्दै प्रभावित नागरिकलाई राहत सहयोग गरेको छ।
मञ्चका अध्यक्ष खेम तिरुवाको नेतृत्वमा गएको राहत टोलीले बाढी प्रभावित वडा तथा गाउँमा पुगेर दैनिक उपभोग्य खाद्य सामग्री वितरण गरेको हो। टोलीले प्रभावित परिवारलाई चाउचाउ, चामल, दाल, नुन, तेल, चिनी लगायतका अत्यावश्यक खाद्यवस्तु उपलब्ध गराएको मञ्चले जनाएको छ।
राहत वितरणका क्रममा अध्यक्ष तिरुवाले व्यवसायीहरू केवल व्यापारिक गतिविधिमा सीमित नभई समाजकै अभिन्न अंग भएकाले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनुपर्ने धारणा व्यक्त गरेका छन्।
उनले विपद्को यस कठिन घडीमा सामाजिक दायित्वलाई प्राथमिकतामा राख्दै प्रभावित परिवारलाई सकेको सहयोग उपलब्ध गराइएको बताए। बाढी तथा पहिरोबाट प्रभावित नागरिकको पीडा कम गर्न राहत तथा पुनर्स्थापनाका कार्यमा सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको उनको भनाइ छ।
राहत वितरण कार्यक्रममा स्थानीय प्रशासन, वडा कार्यालयका पदाधिकारी तथा सामाजिक अभियन्ताहरूको समेत उपस्थिति रहेको थियो। राहत सामग्री प्राप्त गरेका प्रभावित स्थानीयवासीले विपद्को समयमा मञ्चले गरेको सहयोग प्रशंसनीय र समयानुकूल रहेको भन्दै धन्यवाद व्यक्त गरेका थिए।
मञ्चका अनुसार यसपटक वितरण गरिएको राहत सामग्री केन्द्रीय कोष तथा सुनचाँदी व्यवसायीहरूको व्यक्तिगत योगदानबाट खरिद गरिएको हो। संकलित सहयोगलाई आवश्यकताका आधारमा प्रभावित क्षेत्रमा पुर्याएर पीडित परिवारलाई प्रत्यक्ष रूपमा उपलब्ध गराइएको मञ्चले जनाएको छ।
नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चले यसअघि पनि विभिन्न विपद्का समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ। कोभिड–१९ महामारी, भूकम्प तथा अन्य प्राकृतिक विपत्तिमा समेत मञ्चले राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रमा अहिले पनि राहत, उद्धार र पुनर्स्थापनाको आवश्यकता रहेकाले निजी क्षेत्र तथा व्यवसायी समुदायबाट भइरहेको सहयोगले प्रभावित परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया