एवाईएम खेल महोत्सवको ट्रफी अनावरण, आजदेखि ६ खेलको प्रतिस्पर्धा

विहीबार, २५ भदौ २०८३, १० : ४६

काठमाडौं- अग्रवाल युवा मञ्च (एवाईएम), काठमाडौंले युवालाई खेलकुदमार्फत सक्रिय, स्वस्थ र एकताबद्ध बनाउने उद्देश्यले ‘एवाईएम खेल महोत्सव–२०२६’ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ।

तीन दिनसम्म सञ्चालन हुने महोत्सव भदौ २५, २६ र २७ गते काठमाडौंको विशालनगरस्थित धन्वन्तरी स्पोर्ट्स हवमा आयोजना हुने आयोजकले जनाएको छ। महोत्सवको पूर्वसन्ध्यामा बुधबार कमलपोखरीस्थित अग्रवाल सेवा केन्द्रको केन्द्रीय भवनमा ट्रफी अनावरण गरिएको छ।

यस वर्षको महोत्सवलाई विगतका दुई संस्करणभन्दा थप व्यवस्थित, सहभागितामूलक र आकर्षक बनाउने तयारी गरिएको आयोजकको भनाइ छ। महोत्सवमा नेपालका विभिन्न स्थानबाट खेलाडी तथा खेलप्रेमीको सहभागिता रहने अपेक्षा गरिएको छ।

तीनदिने प्रतियोगितामा इनडोर क्रिकेट, इनडोर फुटसल, ब्याडमिन्टन, टेबल टेनिस, स्विमिङ र पुललगायतका खेलमा प्रतिस्पर्धा हुनेछ। ब्याडमिन्टन र टेबल टेनिसतर्फ पुरुष, महिला तथा बालबालिकाका छुट्टाछुट्टै विधामा प्रतिस्पर्धा गराइनेछ। स्विमिङतर्फ भने पाँच वर्षमाथिका विभिन्न उमेर समूहका खेलाडीले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ।

विभिन्न उमेर समूहका खेलाडीलाई एउटै मञ्चमा ल्याएर स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्नु महोत्सवको अर्को उद्देश्य रहेको छ। मारवाडी समाजका युवालाई खेलकुदमार्फत सक्रिय र स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने, नयाँ खेल प्रतिभाको पहिचान तथा प्रोत्साहन गर्ने र युवाबीच आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने लक्ष्य आयोजकले लिएको छ।

खेलकुदका माध्यमबाट युवाबीच एकता, भाइचारा र सामूहिक भावनालाई बलियो बनाउने उद्देश्यसमेत महोत्सवले बोकेको आयोजकले जनाएको छ। विगतका दुई संस्करणमा खेलाडी तथा खेलप्रेमीबाट प्राप्त उत्साहजनक सहभागिता र सहयोगले यस वर्षको महोत्सवलाई थप व्यापक बनाउन प्रेरणा मिलेको एवाईएमले जनाएको छ।

यस वर्ष खेलाडीको सहभागिता, प्रतिस्पर्धाको स्तर तथा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने तयारी गरिएको छ। अग्रवाल युवा मञ्च अग्रवाल सेवा केन्द्रअन्तर्गत सञ्चालित युवा संगठन हो। मञ्चले खेलकुदसँगै सामाजिक तथा सांस्कृतिक गतिविधिमार्फत युवालाई जोड्दै उनीहरूको क्षमता विकासमा योगदान पुर्‍याउँदै आएको जनाएको छ।

एवाईएमका महासचिव करण अग्रवालले खेल महोत्सव युवालाई खेलकुदसँग जोड्दै स्वस्थ प्रतिस्पर्धा र सामाजिक एकताको भावना विकास गर्ने महत्वपूर्ण माध्यम बन्ने बताए।

विहीबार, २५ भदौ २०८३, १० : ४६

प्रतिक्रिया