काठमाडौं- नेपालमा सञ्चालनमा रहेका विकास बैंकहरूको कुल कर्जा प्रवाह पाँच खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८३ असार मसान्तसम्मको विकास बैंकहरूको निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी प्रतिवेदनअनुसार १६ वटा विकास बैंकले कुल पाँच खर्ब ५१ अर्ब ४५ करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्।
सो अवधिमा विकास बैंकहरूको कुल निक्षेप भने छ खर्ब ६१ अर्ब ९१ करोड १६ लाख रुपैयाँ पुगेको छ। निक्षेपको तुलनामा कर्जा प्रवाहको अवस्था हेर्दा विकास बैंकहरूको कर्जा तथा सापटीको अनुपात ८४ दशमलव १० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिवेदनअनुसार २०८३ असार मसान्तसम्म विकास बैंकहरूको कुल चुक्ता पुँजी ४५ अर्ब ४९ करोड ५२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कुल पुँजी कोष ७९ अर्ब ८१ करोड २१ लाख रुपैयाँ र कुल जोखिमभारित सम्पत्ति पाँच खर्ब ४७ अर्ब ६३ करोड १७ लाख रुपैयाँ रहेको छ।
विकास बैंकहरूको समग्र कोर पुँजी पर्याप्तता अनुपात ११ दशमलव ७३ प्रतिशत र पुँजी पर्याप्तता अनुपात १४ दशमलव ५७ प्रतिशत रहेको छ। त्यस्तै, विकास बैंकहरूको औसत खुद तरलता अनुपात २८ दशमलव शून्य ६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
राष्ट्र बैंकले न्यूनतम २० प्रतिशत खुद तरलता कायम गर्नुपर्ने व्यवस्था गरेको छ। अधिकांश विकास बैंकले नियामकीय सीमाभन्दा माथि खुद तरलता कायम गरेका छन्। नारायणी डेभलपमेन्ट बैंकको खुद तरलता अनुपात सबैभन्दा बढी ७९ दशमलव ८५ प्रतिशत रहेको छ। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको ६१ दशमलव ५७ प्रतिशत र सालपा विकास बैंकको ५१ दशमलव ३३ प्रतिशत रहेको छ।
तरलताको तुलनामा विकास बैंकहरूको निष्क्रिय कर्जा भने चुनौतीपूर्ण देखिएको छ। प्रतिवेदनअनुसार विकास बैंकहरूको औसत निष्क्रिय कर्जा अनुपात पाँच दशमलव ३७ प्रतिशत रहेको छ। केही बैंकमा भने निष्क्रिय कर्जाको अनुपात निकै उच्च देखिएको छ।
सबैभन्दा बढी निष्क्रिय कर्जा नारायणी डेभलपमेन्ट बैंकमा रहेको छ। बैंकको कुल कर्जामध्ये ४८ दशमलव ५१ प्रतिशत निष्क्रिय रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको निष्क्रिय कर्जा सात दशमलव ६८ प्रतिशत, सिन्धु विकास बैंकको सात दशमलव ६६ प्रतिशत, लुम्बिनी विकास बैंकको छ दशमलव ९४ प्रतिशत, ज्योति विकास बैंकको छ दशमलव ५५ प्रतिशत, महालक्ष्मी विकास बैंकको छ दशमलव ३२ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको छ दशमलव २४ प्रतिशत रहेको छ।
गरिमा विकास बैंकमा चार दशमलव ७६ प्रतिशत, मुक्तिनाथ विकास बैंकमा चार दशमलव ७७ प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंकमा चार दशमलव ५७ प्रतिशत र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा चार दशमलव ९३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ।
यस अवधिमा सबैभन्दा कम निष्क्रिय कर्जा मितेरी डेभलपमेन्ट बैंकमा देखिएको छ। मितेरीको निष्क्रिय कर्जा अनुपात शून्य दशमलव २६ प्रतिशत रहेको छ। त्यस्तै, सालपा विकास बैंकमा शून्य दशमलव ७९ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकमा तीन दशमलव २२ प्रतिशत र कामना सेवा विकास बैंकमा तीन दशमलव ७७ प्रतिशत रहेको छ।
चुक्ता पुँजीका आधारमा भने मुक्तिनाथ विकास बैंक सबैभन्दा अगाडि रहेको छ। बैंकको चुक्ता पुँजी आठ अर्ब ९० करोड रुपैयाँभन्दा बढी रहेको छ। त्यस्तै, गरिमा विकास बैंकको चुक्ता पुँजी छ अर्ब दुई करोड, शाइन रेसुङ्गाको पाँच अर्ब दुई करोड, महालक्ष्मीको चार अर्ब ५१ करोड र ज्योति विकास बैंकको चार अर्ब ४० करोड रुपैयाँभन्दा बढी रहेको छ।
कुल पुँजी कोषमा पनि मुक्तिनाथ विकास बैंक अग्रस्थानमा रहेको छ। बैंकको कुल पुँजी कोष १३ अर्ब ३४ करोड ५० लाख रुपैयाँ रहेको छ। त्यसपछि गरिमा विकास बैंकको ११ अर्ब चार करोड ३४ लाख, शाइन रेसुङ्गाको नौ अर्ब २४ करोड ७९ लाख, ज्योति विकास बैंकको आठ अर्ब ५७ करोड ३२ लाख र महालक्ष्मी विकास बैंकको आठ अर्ब २१ करोड ५८ लाख रुपैयाँ कुल पुँजी कोष रहेको छ।
अर्कोतर्फ, समस्याग्रस्त विकास बैंकको सूचीमा रहेको कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय अवस्था सबैभन्दा कमजोर देखिएको छ। बैंकको चुक्ता पुँजी ५० करोड २८ लाख रुपैयाँ रहे पनि कोर पुँजी तथा कुल पुँजी कोष ऋणात्मक ३८ करोड ५६ लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।
कर्णाली डेभलपमेन्ट बैंकको जोखिमभारित सम्पत्ति दुई अर्ब ७० करोड ३५ लाख रुपैयाँ रहेको छ। बैंकको कुल निक्षेप ४२ करोड ९४ लाख ५६ हजार रुपैयाँ र कुल कर्जा २४ करोड ४१ लाख पाँच हजार आठ सय रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया