काठमाडौं– नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चले नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघद्वारा स्थापना गरिएको आपतकालीन राहतकोषमा २ लाख २२ हजार २२२ रुपैयाँ आर्थिक सहयोग गरेको छ। रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले मञ्चले उक्त रकम प्रदान गरेको हो।
मञ्चका अध्यक्ष खेम तिरुवाको नेतृत्वमा महासंघको निर्णयअनुसार व्यवसायीबाट रकम संकलन गरी राहतकोषमा जम्मा गरिएको हो। अध्यक्ष तिरुवाका अनुसार महासंघको आह्वानअनुसार ‘एक व्यवसायी, एक हजार रुपैयाँ’ सहयोग संकलन गर्ने अभियान सञ्चालन गरिएको थियो।
अध्यक्ष तिरुवाले विपद्का बेला व्यवसायी समुदायको सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सहयोग गरिएको बताए। उनका अनुसार महासंघले स्थापना गरेको राहतकोषमा विभिन्न व्यवसायी तथा संस्थाबाट संकलन हुने रकमलाई विपद् प्रभावितको सहयोगमा परिचालन गरिनेछ।
_JhXMiniODm.jpg)
‘महासंघका अनुसार राहतकोषमार्फत संकलित रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिनेछ। यसबाट बाढी प्रभावित नागरिकको तत्काल उद्धार, राहत वितरण तथा पुनर्स्थापना कार्यमा केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास गरेका छौँ,’ अध्यक्ष तिरुवाले भने।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवासहित आसपासका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण प्रभावित परिवारको उद्धार, विस्थापितलाई राहत तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि विभिन्न संघसंस्था, व्यवसायी तथा निजी क्षेत्रबाट सहयोग जुटाउने क्रम जारी छ।
मञ्चले प्राकृतिक विपद्का कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित परिवारलाई आवश्यक सहयोग र सहकार्य निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएको छ।
मञ्चका अध्यक्ष तिरुवाले विपद्को समयमा सबै क्षेत्रबाट प्राप्त हुने सहयोगले प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनामा महत्वपूर्ण योगदान पुग्ने बताए। उनले व्यवसायी समुदायलाई पनि आफ्नो क्षमताअनुसार सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विपद् प्रभावितको सहयोगमा जुट्न आग्रह गरेका छन्।
प्रतिक्रिया