काठमाडौं- बजारमा लगानीको वातावरण बन्न नसकेको अवस्थामा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको बैंकिङ प्रणालीमा पर्याप्त पुँजी भए पनि त्यसलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न नसक्दा अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको बताएका छन्। बैंकमा थुप्रिएको पुँजी घरजग्गा र सेयर बजारको सट्टेबाजीमा केन्द्रित हुनुको सट्टा उद्योग, उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा गएको भए अर्थतन्त्र अझ सुदृढ हुने उनको भनाइ छ।
नेपाल आर्थिक पत्रकार समाजको २८औँ वार्षिक साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले अहिलेको मुख्य समस्या पुँजीको अभाव नभई लगानीका लागि विश्वास र अनुकूल वातावरणको अभाव भएको बताए।
उनका अनुसार ब्याजदर घटेको छ, बैंकहरू कर्जा प्रवाह गर्न इच्छुक छन्, तर त्यसअनुसार कर्जाको माग बढ्न सकेको छैन। “अहिले ‘पैसा छैन’ भन्ने अवस्था होइन, उपलब्ध पुँजीलाई उत्पादनमूलक क्षेत्रमा कसरी लैजाने भन्ने चुनौती हो,” उनले भने।
वाग्लेले पछिल्ला केही वर्षमा नीतिगत तथा संस्थागत कमजोरी र कुशासनका कारण अर्थतन्त्रमा समस्या थपिएको बताए। विगतका गैरजिम्मेवार निर्णय र व्यवहारले सिर्जना गरेको अवस्थालाई अझ बिग्रिन नदिई सुधारको दिशामा लैजान सरकार प्रतिबद्ध रहेको उनले बताए। उनले सुधारको घोषणा मात्र पर्याप्त नहुने भन्दै त्यसलाई व्यवहारमा कार्यान्वयन गर्नु नै अहिलेको आवश्यकता भएको उल्लेख गरे।
अर्थमन्त्री वाग्लेले पुँजी बजार अहिले पनि सुस्त अवस्थामा रहेको स्वीकार गर्दै यसको विकास र सुधारका लागि सरकारले १० देखि १२ बुँदे सुधार कार्यक्रम ल्याउने तयारी गरिरहेको जानकारी दिए।
घरजग्गा कारोबारमा आएको मन्दीप्रति पनि सरकार गम्भीर रहेको उनले बताए। घरजग्गा क्षेत्र अर्थतन्त्रका धेरै क्षेत्रसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै त्यसमा देखिएको सुस्तता हटाउन आवश्यक नीति सुधार गरिने बताए।
प्रतिक्रिया