बुद्ध रिजेन्सीले १५ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

शुक्रबार, २६ भदौ २०८३, १५ : ११

काठमाडौं- लुम्बिनीको सिद्धार्थनगरमा सञ्चालित पाँचतारे होटल बुद्ध रिजेन्सी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो।

कम्पनीले कुल १५ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

शेयर निष्कासनसम्बन्धी सम्झौतामा बुधबार, २०८३ भदौ २५ गते लक्ष्मी सन्राइज क्यापिटल, नयाँ बानेश्वरमा हस्ताक्षर भएको हो। सम्झौतामा बुद्ध रिजेन्सीका तर्फबाट सञ्चालक सुनिल अग्रवाल र लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार कम्पनीले निकट भविष्यमा सर्वसाधारणका लागि उक्त साधारण शेयर निष्कासन गर्नेछ।

बुद्ध रिजेन्सी होटल सिद्धार्थनगर (भैरहवा) स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ठीक अगाडि सञ्चालनमा रहेको पाँचतारे लक्जरी होटल हो। होटलले विन्डहम होटल्स एन्ड रिसोर्ट्ससँगको साझेदारीमा ‘रामाडा बाइ विन्डहम’ ब्रान्डअन्तर्गत सेवा प्रदान गर्दै आएको छ।

होटलमा आरामदायी बसाइका लागि डिजाइन गरिएका १०० भन्दा बढी सुविधासम्पन्न कोठा रहेका छन्। त्यस्तै, विवाह समारोहका लागि ठूला तथा भव्य बैंक्वेट हल र कर्पोरेट सम्मेलनका लागि दुईवटा समर्पित हलसमेत रहेको कम्पनीले जनाएको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै रहेको तथा लुम्बिनी क्षेत्रको धार्मिक एवं पर्यटकीय गतिविधिलाई लक्षित गर्दै सञ्चालनमा आएको होटलले आफ्नो व्यवसाय विस्तारसँगै सर्वसाधारणलाई समेत स्वामित्वमा सहभागी गराउने उद्देश्यले शेयर निष्कासन गर्न लागेको हो।

शुक्रबार, २६ भदौ २०८३, १५ : ११

प्रतिक्रिया