माछापालनबाट वार्षिक १५ लाख बचत, ८ जनालाई रोजगारी

आइतबार, २८ भदौ २०८३, १५ : ०७

कैलाली– कैलालीको कैलारी गाउँपालिका–४ का किसान हेमन्त खरेलले माछापालन व्यवसायबाट वार्षिक १५ लाख रुपैयाँसम्म बचत गर्दै आएका छन्। ११ वर्षअघि १२ हजार रुपैयाँबाट सुरु गरेको व्यवसाय विस्तार गर्दै उनले अहिले आफ्नै जमिनमा चारवटा ठूला पोखरीमा व्यावसायिक माछापालन गरिरहेका छन्।

विदेश गएर काम गर्नुभन्दा स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचले माछापालन सुरु गरेका खरेलका लागि अहिले यही व्यवसाय आम्दानीको मुख्य स्रोत बनेको छ। उनका अनुसार व्यवसायमा हालसम्म करिब ५० लाख रुपैयाँ लगानी भइसकेको छ भने वार्षिक कारोबार ६५ लाख रुपैयाँ हाराहारी हुने गरेको छ। सबै खर्च कटाएर करिब १५ लाख रुपैयाँ बचत हुने गरेको उनले बताए।

माछापालनको रेखदेख र हेरचाहका लागि खरेलले आठ जना स्थानीयलाई रोजगारीसमेत दिएका छन्। उनीहरूको मासिक पारिश्रमिकमा मात्रै एक लाख ५२ हजार रुपैयाँ खर्च हुने गरेको उनको भनाइ छ।

खरेलका पोखरीमा अहिले ग्रास, कमन कार्प, रहु, जलकपुरलगायत जातका करिब ३०० क्विन्टल माछा रहेका छन्। उत्पादित माछा होलसेलमा प्रतिकिलो ३०० रुपैयाँ र खुद्रामा ३५० रुपैयाँसम्ममा बिक्री हुँदै आएको उनले बताए।

दक्षिणी सीमा क्षेत्रमा कडाइसँगै अवैध रूपमा भारतबाट भित्रिने माछाको आयात रोकिएपछि स्थानीय उत्पादनले बजारमा राम्रो मूल्य पाउन थालेको खरेलको भनाइ छ। यसले स्वदेशी माछापालक किसानलाई व्यवसाय विस्तारका लागि थप उत्साहित बनाएको उनले बताए।

“माछापालनमा लगानीसँगै मेहनत र समय दिनुपर्छ। राम्रो व्यवस्थापन गर्न सके परिवारको खर्च धान्ने मात्र होइन, राम्रो बचत पनि गर्न सकिन्छ,” खरेलले भने।

माछापालनसँगै उनले कुखुरापालन र बङ्गुरपालनसमेत गर्दै आएका छन्। कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन र स्थानीय उत्पादन प्रवर्द्धन गर्न माछापालनजस्ता व्यवसायलाई राज्यले प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ।

स्थानीयस्तरमै उत्पादन र रोजगारी सिर्जना गर्ने यस्ता व्यवसायलाई प्रोत्साहन गर्न सके युवालाई विदेश जानुपर्ने बाध्यता घट्नुका साथै किसानको आर्थिक अवस्था सुधारमा समेत योगदान पुग्ने खरेलको भनाइ छ।

आइतबार, २८ भदौ २०८३, १५ : ०७

प्रतिक्रिया