काठमाडौं- भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले ११ जलविद्युत् आयोजना प्रभावित हुँदा ती आयोजनामा कार्यरत ९०९ जना अझै सम्पर्कविहीन रहेको पाइएको छ। बाढीबाट सञ्चालनमा रहेका र निर्माणाधीन गरी १२ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्।
बाढीबाट सबैभन्दा ठूलो मानवीय क्षति रसुवास्थित २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा देखिएको छ। आयोजना निर्माणस्थलमा बाढी आउनुअघि कुल १ हजार ४३३ जना कार्यरत रहेकामा हालसम्म ८७८ जनाको उद्धार गरिएको छ। आयोजनास्थलबाट हालसम्म १० जनाको शव भेटिएको कम्पनीले जनाएको छ।
माथिल्लो त्रिशूली–१ मा सम्पर्कविहीनमध्ये ९ जना कोरियाली, ३४ जना चिनियाँ र ५० जना भारतीय नागरिक रहेको विवरणमा उल्लेख छ। आयोजनामा हराइरहेकाहरूको खोजीका लागि सुरुङ तथा हेडवर्क्स क्षेत्रमा उद्धार टोली परिचालन गरिएको छ।
आइतबार नेपाली सेनासहित दुई हेलिकप्टरबाट ल्याइएका उद्धार मेसिन तथा उपकरणको सहयोगमा आयोजनाको एडिट नम्बर ३ बाट सुरुङतर्फ खोजी सुरु गरिएको छ। एडिट नम्बर ३ बाट अघि बढ्ने क्रममा अवरोध बनेका सवारीसाधन तथा अन्य सामग्री हटाएपछि लेदो एडिट नम्बर २ तर्फ बगेको कम्पनीले जनाएको छ। सोमबारदेखि सुरुङभित्रको लेदो हटाउने कामलाई थप तीव्रता दिने तयारी छ।
आयोजनाको बाँधतर्फको सुरुङसम्म पुग्न करिब ४ किलोमिटर दूरी रहेकाले केही दिनभित्र सुरुङभित्रको अवस्था पत्ता लगाउन सकिने कम्पनीको भनाइ छ।
यस्तै, २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहमा फसेकाहरूको खोजी तथा उद्धार पनि जारी छ। मेसिनरी उपकरण प्रयोग गरी पहुँच सुरुङ सफा गर्ने काम थालिएको छ। आइतबार मात्रै करिब ७० मिटर सुरुङ सफा गरिएको र कामदार फसेको क्षेत्रमा पुग्न अझै करिब तीन दिन लाग्ने अनुमान गरिएको छ। उद्धार कार्यलाई तीव्र बनाउन रातिको समयमा समेत काम जारी राखिएको छ।
त्यस्तै ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाबाट सम्पर्कविहीन भएकाहरूको खोजीका लागि आवास तथा कार्यालय भवन रहेको क्षेत्रमा उत्खनन जारी छ। तीनवटा ठूला मेसिन प्रयोग गरी खोजी कार्यलाई तीव्रता दिइएको छ। उक्त आयोजनाबाट मात्रै १७८ जना अझै सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
बाढीबाट पूर्णरूपमा क्षतिग्रस्त आयोजनामा माथिल्लो त्रिशूली–१, रसुवागढी, रसुवा–भोटेकोशी, लाङटाङ खोला, चिलिमे र मैलुङ खोला जलविद्युत् आयोजना रहेका छन्। विवरणअनुसार यी आयोजनामा ठूलो संख्यामा जनशक्ति प्रभावित भएका छन्।
त्यसैगरी त्रिशूली जलविद्युत् केन्द्र, देविघाट जलविद्युत् केन्द्र, माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, मिल त्रिशूली गंगा र नुवाकोट सौर्य विद्युत् आयोजनासमेत बाढीबाट पूर्णरूपमा प्रभावित भएको विवरणमा उल्लेख छ। यी आयोजनाबाट गरी २२३ जना सम्पर्कविहीन रहेको जनाइएको छ।
प्रतिक्रिया