काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई एटीएमबाट १ हजार र ५ सय रुपैयाँका नोटसँगै १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।
राष्ट्र बैंकले पत्राचार गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत उपलब्ध गराउन अनुरोध गरेको हो। ग्राहकहरूले लामो समयदेखि एटीएमबाट साना दरका नोटसमेत उपलब्ध गराउन माग गर्दै आएको र नजिकिँदो बडादशैंलाई ध्यानमा राखेर यस्तो व्यवस्था गर्न आग्रह गरिएको राष्ट्र बैंकले जनाएको छ।
चाडपर्वका समयमा साना दरका नोट साट्न बैंक तथा वित्तीय संस्थामा ग्राहकको भीड बढ्ने गर्छ। एटीएमबाटै १०० रुपैयाँ दरका नोट उपलब्ध गराउन सके बैंकमा हुने भीड उल्लेख्य रूपमा घटाउन सकिने राष्ट्र बैंकको अपेक्षा छ।
राष्ट्र बैंकले केही बैंकसँग मौखिक रूपमा गरेको छलफलका क्रममा एटीएमबाट १०० रुपैयाँ दरका नोट वितरण गर्ने व्यवस्था प्राविधिक रूपमा सम्भव रहेको जानकारी प्राप्त भएको जनाएको छ।
आम सर्वसाधारणको सुविधा तथा चाडपर्वका समयमा बैंकमा हुने भीड व्यवस्थापनलाई समेत ध्यानमा राख्दै एटीएमबाट १०० रुपैयाँ दरका नोट वितरणको व्यवस्था मिलाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको हो।
प्रतिक्रिया