वाणिज्य बैंक

असोज महिनाका लागि वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

बुधबार, ३१ भदौ २०८३, १३ : ४१

काठमाडौं– वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त भए पनि कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न नसक्दा निक्षेपको ब्याजदर घट्ने क्रमले निरन्तरता पाएको छ।

२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदरको औसत ४.०८९६ प्रतिशतमा झरेको छ। भदौमा यस्तो औसत ब्याजदर ४.१३६० प्रतिशत थियो। यसरी एक महिनामै व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसत ०.०४६ प्रतिशत बिन्दुले घटेको हो।

यसअघि पनि साउनको तुलनामा भदौमा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ०.०३१५ प्रतिशत बिन्दुले घटेको थियो। साउनमा यस्तो ब्याजदर औसत ४.१६७५ प्रतिशत रहेको थियो।

भदौको तुलनामा असोजमा चारवटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने बाँकी १६ बैंकले यथावत् राखेका छन्। ब्याजदर घटाउने बैंकमा नबिल बैंक, एभरेस्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र कुमारी बैंक रहेका छन्।

केही बैंकले ब्याजदरमा सामान्य कटौती गरेपछि समग्र औसत दर घटेको हो। असोजमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.५५ प्रतिशतभन्दा तल झरेको छ। बैंकहरूमध्ये प्रभु बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा तुलनात्मक रूपमा बढी ब्याजदर दिने देखिएको छ।

यद्यपि ४.५५ प्रतिशतसम्मको ब्याजदर सबै अवधिका मुद्दती निक्षेपमा लागू हुने होइन। बैंकहरूले लामो अवधिका मुद्दती निक्षेपमा तुलनात्मक रूपमा बढी ब्याज दिने गरेका छन्। उदाहरणका लागि उक्त दर १० वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपका लागि मात्रै लागू हुने व्यवस्था छ। छोटो अवधिका मुद्दती निक्षेपमा भने ब्याजदर कम हुने गरेको छ।

बैंकहरूले हरेक महिनाको अन्तिम दिन आगामी महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गर्दै आएका छन्। असोजमा खोलिने नयाँ मुद्दती निक्षेप तथा यसै महिनामा अवधि पूरा भएर नवीकरण हुने मुद्दती खातामा मात्रै नयाँ ब्याजदर लागू हुनेछ। यसअघि लामो अवधिका लागि मुद्दती खाता खोलेका निक्षेपकर्ताले भने खाता खोल्दाको सम्झौताअनुसारकै ब्याजदर पाउनेछन्।

निक्षेपको ब्याजदर घट्दा बैंकको आधार दरमा समेत प्रभाव पर्छ। आधार दर घटेपछि बैंकहरूलाई कर्जाको ब्याजदर घटाउन दबाब पर्न सक्छ। त्यसैले निक्षेपको ब्याजदरमा आएको गिरावटले आगामी दिनमा कर्जाको ब्याजदरमा समेत असर पार्ने देखिन्छ।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त रहे पनि कर्जा माग तथा प्रवाह अपेक्षाअनुसार बढ्न नसकेपछि बैंकहरूबीच निक्षेप तान्न ब्याजदर बढाउने प्रतिस्पर्धा कमजोर भएको छ। यही अवस्थाका कारण पछिल्ला महिनामा निक्षेपको ब्याजदर क्रमशः ओरालो लागेको हो।

नेपाल राष्ट्र बैंकले समेत वित्तीय प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न विभिन्न मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ। अन्तरबैंक ब्याजदर र तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायतका उपकरणमार्फत बैंकिङ प्रणालीबाट रकम खिचिरहेको छ।

यसले बैंकिङ प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न सहयोग गरे पनि कर्जा माग कमजोर रहँदा बैंकहरूमा लगानीयोग्य रकमको दबाब कायमै छ। परिणामस्वरूप निक्षेपकर्ताले पाउने ब्याजदर घट्दै गएको छ भने यसको प्रभाव आगामी दिनमा कर्जाको ब्याजदरमा समेत देखिन सक्नेछ।

बुधबार, ३१ भदौ २०८३, १३ : ४१

प्रतिक्रिया