काठमाडौं- गायक भूपेश गिरीले आफ्नी दिवंगत आमा गोमा गिरीको सम्झनामा तयार पारेको गीत ‘मेरी आमा’ सार्वजनिक गरेका छन्। वास्तविक जीवनमा भोगेको पीडादायी घटनाबाट प्रेरित गीतको म्युजिक भिडियोमा आमाको माया, बाल्यकालका सम्झना, अस्पतालको पीडा र आमालाई गुमाउँदाको क्षणलाई कथात्मक रूपमा प्रस्तुत गरिएको छ।
आमाको स्वास्थ्य अवस्था गम्भीर हुँदै जाँदा चिकित्सकबाट प्राप्त निराशाजनक खबर, छोराको मनमा पलाएको आशा र अन्ततः आमालाई गुमाउनुपरेको पीडालाई भूपेशले शब्द, संगीत र दृश्यमा उतारेका छन्।
गीतका शब्द, संगीत, स्वर र अभिनय भूपेश गिरीकै हो। भिडियोमा संगम राईले आमाको भूमिका निभाएकी छन् भने बाल कलाकार ब्रायन घिमिरेले बाल्यकालका भूपेशको भूमिका निर्वाह गरेका छन्।
राजीव समरको निर्देशनमा बनेको भिडियोको छायांकन रक कौशल, सम्पादन तथा कलर राकेश दाहाल र पोस्ट प्रोडक्सन नोभिस आर्ट्सको रहेको छ। रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ सजन शाहले गरेका हुन्।
ग्लोबल हायरको प्रस्तुति तथा कुसुम पाठक निर्मात्री रहेको यस म्युजिक भिडियोलाई ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। भिडियोमा दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।
प्रतिक्रिया