काठमाडौं- भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट ११ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। ती आयोजनामा कार्यरत ८०५ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ।
बाढीबाट प्रभावित आयोजनामध्ये ८ वटा आयोजना सञ्चालनमा रहेका र ४ वटा निर्माणाधीन छन्। यी आयोजनाको कुल क्षमता ६६९ मेगावाट रहेको छ। विवरणअनुसार सञ्चालनमा रहेका आयोजनाको क्षमता २८१ मेगावाट र निर्माणाधीन आयोजनाको क्षमता ३८८ मेगावाट छ।
रसुवामा बाढीबाट पूर्णरूपमा क्षतिग्रस्त भएका आयोजनामध्ये माथिल्लो त्रिशूली–१, रसुवागढी, रसुवा–भोटेकोशी, लाङटाङ खोला, चिलिमे र मैलुङ खोला जलविद्युत् आयोजना छन्। यी आयोजनामा मात्रै ठूलो संख्यामा जनशक्ति सम्पर्कविहीन भएको विवरणमा उल्लेख छ।
माथिल्लो त्रिशूली–१ आयोजना निर्माणाधीन अवस्थामा रहेको छ। आयोजनास्थलमा रहेका कुल १ हजार ४३३ जनशक्तिमध्ये ८७७ जनाको सकुशल उद्धार भएको, ७८ जना सम्पर्कमा आएको, ३९ जना मृत भेटिएको र ४३९ जना अझै सम्पर्कविहीन रहेको कम्पनीले जनाएको छ।
आयोजनाको बाँधस्थलबाट मुख्य सुरुङतर्फ बाढीले क्षति पुर्याएको समेत जनाइएको छ। सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, कोरियाली विज्ञ तथा आयोजनाको टोली सहभागी भएर संयुक्त रूपमा खोजी तथा उद्धार कार्य जारी राखेको कम्पनीले जनाएको छ।
यसैगरी बाढीबाट पूर्णरूपमा प्रभावित आयोजनामा त्रिशूली जलविद्युत् केन्द्र, देवीघाट जलविद्युत् केन्द्र, माथिल्लो त्रिशूली–३ए, माथिल्लो त्रिशूली–३बी, मिडिल त्रिशूली गंगा र नुवाकोट सौर्य विद्युत् आयोजना रहेका छन्। यी आयोजनामा कुल २२३ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
बाढीबाट प्रभावित आयोजनाका सम्पर्कविहीन व्यक्तिका परिवारसँग नियमित सम्पर्क तथा सूचना समन्वय गरिरहेको र मृतकका परिवारलाई अन्तिम संस्कारका लागि प्रारम्भिक राहतस्वरूप काजकिरिया खर्च उपलब्ध गराइरहेको सम्बन्धित कम्पनीले जनाएको छ।
प्रतिक्रिया