काठमाडौं- चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालमा ११ अर्ब रुपैयाँभन्दा बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ। साउन र भदौमा ३२८ परियोजनामार्फत कुल ११ अर्ब १२ करोड ४४ लाख ५७ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो।
गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा २३६ परियोजनाका लागि ३३ अर्ब ९ करोड २० लाख ५४ हजार रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको थियो। यसअनुसार गत वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा विदेशी लगानी प्रतिबद्धता उल्लेख्य रूपमा घटेको छ।
उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको दुई महिनामा पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता आएको छ। पर्यटनतर्फ ७० परियोजनाका लागि ३ अर्ब ७४ करोड २८ लाख ५० हजार रुपैयाँ प्रतिबद्धता आएको छ।
त्यस्तै, सेवा क्षेत्रमा २६ परियोजनामार्फत ३ अर्ब ३० करोड ५४ लाख ८५ हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ।
उत्पादनमूलक उद्योगतर्फ १८ परियोजनामार्फत १ अर्ब २३ करोड ९२ लाख रुपैयाँ प्रतिबद्धता आएको छ भने सूचनामूलक क्षेत्रमा २१२ परियोजनामार्फत ८१ करोड ७९ लाख ७६ हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।
ऊर्जा र कृषिमूलक क्षेत्रमा भने एक–एक परियोजनाका लागि लगानी प्रतिबद्धता आएको छ। ऊर्जा क्षेत्रमा एउटा परियोजनाका लागि २ अर्ब रुपैयाँ र कृषिमूलक क्षेत्रमा एउटा परियोजनाका लागि २० करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ।
प्रतिक्रिया